काठमाडौं। नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२-२०२३ को सिजन मंगलबारदेखि सुरू हुँदैछ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले जानकारी गराएका हुन् ।
चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ छ ।
डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६-१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल एनपीजीए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन, मार्च १४ देखि १७ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८-२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र मे ८-१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ ।
आठ प्रतियोगिताको कूल पुरस्कार राशी ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ । इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपीएजीए टुरको पुरस्कार राशी समान ८-८ लाख रुपैयाँ रहेको छ । एनपीजीए म्याच प्लेको २ लाख ५० हजार, नेपाल च्यालेन्जको ५ लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।
एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउँदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रा.लि.लाई धन्यवाद दिए ।
Facebook Comment
Comment