सरकार भन्छ- ‘बजेट कार्यान्वयनका कमजोरी सुधार्न आवश्यक छ’

नेपालभ्युज

सरकार भन्छ- ‘बजेट कार्यान्वयनका कमजोरी सुधार्न आवश्यक छ’

काठमाडौं । सरकारले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न तयार रहेको जनाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले शुक्रबारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा प्रधानमन्त्री कार्यालय, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयका सचिवहरूले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा धेरै समस्या देखिएको बताएका हन् । उनीहरूले कमी, कमजोरी सुधार गर्न सरकार तयार रहेको जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनीले बजेट कार्यान्वयनको पाटो एकदमै कमजोर रहेको बताए । उनले बजेट कार्यान्वयनको पूर्व तयारी नगरी बजेटमा नीतिगत व्यवस्था गर्दा समस्या भएको बताए । उनले सरकारले लामो बजेट लेखेर समय बर्बाद गरेको बताउँदै छोटो लेखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । बजेट कार्यान्वयनमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै उनको तर्क छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आफूले ७ पटक लेखेको बजेटको प्रभावकारी कार्यान्वयन नभएको बताए । सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यक पर्ने उनको भनाइ छ । बजेट कार्यान्वयनको विषयमा सरकारी स्तरबाट पनि धेरै कमी-कमजोरीहरू हुने गरेको उनको दाबी छ ।

यस्तै,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले बजेट एकदमै सुस्त कार्यान्वयन भइरहेको बताए । बजेट कार्यान्वयनमा निजी क्षेत्रले पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले पछिल्लो समय अन्य देशहरुमा कुल जीडीपीको १२ प्रतिशत विदेशी लगानी भित्रिने भए पनि नेपालमा कुल बजेटको ०.४ प्रतिशत मात्रै विदेशी लगानी आएको जानकारी दिए । उनले विदेशी लगानी भित्र्याउनमा निजी क्षेत्रले पहल गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved