क्यामरुनसँग १-० गोल अन्तरले हार्‍यो ब्राजिल

नेपालभ्युज

क्यामरुनसँग १-० गोल अन्तरले हार्‍यो ब्राजिल

काठमाडौं। कतार विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको छ। लुसैल स्टेडियममा शुक्रबार मध्यराति भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तरले पराजित भएको हो।

दोस्रो हाफको इन्ज्युरी समयमा भिसेन्ट अबुबाकरले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए। अबुबाकर गोल गरेपछि जर्सी फुकालेर उत्सव मनाउँदा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाड्न पुगे। दोस्रो हाफको अतिरिक्त समयमा क्यामरुन १० खेलाडीमा सीमित बनेको थियो।

खेलको ८१ औँ मिनेटमा पहिलो पँहेलो कार्ड पाएका उनले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो पँहेलो कार्ड खाँदै मैदान छाडे। समुह चरणको पहिलो खेलमा सर्वियालाई २-० ले हराएको ब्राजिलले अर्को खेलमा स्विटजरल्याण्डलाई १-० ले पाखा लगाएको थियो। अन्तिम १६ मा ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ।

सन् २०१८ मा पनि एकै समुहबाट ब्राजिल विजेता र स्वीटजरल्याण्डस् उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए। २ खेलमा नै नकआउट चरण सुनिश्चित गरेको ब्राजिलले क्यामरुनविरुद्ध दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो। ब्राजिलले क्यामरुनविरुद्ध रिचार्लिसन, राफिना, भिनिसियस, क्यासेमिरो, थिएगो सिल्भा लगायतका खेलाडीलाई आराम दिएको थियो।

समूह चरणकै पहिलो खेलमा घाइते भएका नेयमार भने त्यसयताका खेलमा टोलीबाहिर छन्। विश्वकपका सबै संस्करण खेलेको ब्राजिल सन् १९६६ पछि लगातार १४ औँ पटक नकआउट चरण पुग्ने एक्लो टोली हो। २००२ मा च्याम्पियन बनेको ब्राजिल चार संस्करणपछि छैटौँ उपाधि उचाल्ने योजनामा छ।

यता क्यामरुन भने लगातार छैटौँ पटक समूह चरणमा सीमित हुँदै आएको छ। १९९० मा क्वार्टरफाइनलसम्म पुगेको क्यामरुन त्यसयता समूह चरण पार गर्न सकेको छैन। यो बीचमा क्यामरुनले सन् २००६ र २०१८ मा भने छनोट चरण नै पार गर्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved