काठमाडौं । नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई कारबाही गर्न नेकपा (माओवादी केन्द्र) निकट सङ्गठन प्रेस सेन्टर नेपालले माग गरेको छ । अध्यक्ष बस्नेतलगायत पत्रकारहरूले केही अनलाइनहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको भन्दै सेन्टरले कारबाहीको माग गरेको हो ।
सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’द्वारा जारी वक्तव्यमा भनिएको छ— यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो । त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पुर्याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलगायत यस कार्यमा संलग्न सबै पत्रकारहरूलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु ।
यसअघि सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइनलगायतका सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी शीर्षक तोडमोड गरेर बनाइएको स्क्रीनसट सामाजिक सञ्जालहरूमा शेयर गरिएको थियो । उक्त सामाग्री अध्यक्ष बस्नेतले पनि शेयर गरेका छन् ।

Facebook Comment
Comment