ओलीलाई प्रचण्डको प्रश्न- संविधान च्यात्नलाई भोट माग्नुभएको हो ?

‘तपाईंले किन भोट माग्नुभएको हो ? दुईतिहाइ हुँदा पनि संविधान च्यात्न सकिएन, अब फेरि च्यात्छौँ भनेर भोट माग्नुभएको हो ? कि भ्रष्टाचार अलिअलि त गरियो, तर अझै पुगेन भनेर भोट माग्नुभएको हो ?’

नेपालभ्युज

ओलीलाई प्रचण्डको प्रश्न- संविधान च्यात्नलाई भोट माग्नुभएको हो ?
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान च्यात्न खोज्ने प्रवृत्ति अझै सक्रिय रहेको बताएका छन् । बिहीबार काठमाडौंको कोटेश्वरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै त्यसो भनेका हुन् ।

प्रचण्डले भने, ‘संविधान मास्न खोज्ने र प्रतिगमनतर्फ जान खोज्ने प्रवृत्ति अझै सक्रिय छ । अझै त्यो निकै सक्रिय देखिन्छ । यसलाई परास्त गर्ने सही दिनचाहिँ मंसिर ४ नै हो । सबैले सोच्नुहोला ।’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै लिँदै उनले प्रश्न सोधे— ‘तपाईंले किन भोट माग्नुभएको हो ? दुईतिहाइ हुँदा पनि संविधान च्यात्न सकिएन, अब फेरि च्यात्छौँ भनेर भोट माग्नुभएको हो ? कि भ्रष्टाचार अलिअलि त गरियो, तर अझै पुगेन भनेर भोट माग्नुभएको हो ?’

यो प्रश्न अब नागरिकहरूले सोच्नुपर्ने भन्दै उनले थपे, ‘उहाँ (ओली) को सबै सिद्धान्त अब सकियो । उहाँको सिद्धान्तचाहिँ के हो भने संविधान च्यात्ने र फेरि पनि हिजोकै युगतिर जाउँ भन्ने हो । अब यो फेल भइसक्यो । उहाँको गोरूगाडावाला सिद्धान्त त पहिल्यै सकिएको हो ।’

ओलीको राजनीतिबाटै बिदा लिने बेला भइसकेको दाबी गर्दै प्रचण्डले भने, ‘उहाँलाई त मैले भनेको छु— राजनीतिबाटै बिदा लिनुस् भनेर । तर, उहाँ मान्दै हुनुहुन्न । अब उहाँजस्तो नेता राजनीतिबाट बिदा हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved