काठमाडौं। नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताए । अहिलेका जनप्रतिनिधिहरू ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दै छन् भन्ने कुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै उनले आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।
उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको गुनासो गरे ।
उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरूको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे ।
पौडेलले भने, ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरूले अनुभव गरिरहनुभएको छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरूको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा हामी छौँ । ’
नेता पौडेलले काठमाडौं-१ का मतदाताहरूले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा उपयुक्त पात्रको रूपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे ।
Facebook Comment
Comment