एमालेमा ‘दश बुँदेवाला समूह’ निस्तेज : पार्टी सत्ता प्राप्त गर्न महासचिव पोखरेलको नयाँ रणनीति

भीम रावललाई टिकट नै दिएनन् । अष्टलक्ष्मी शाक्यले टिकट लिन अस्वीकार गरिन भने घनश्याम भूसालले पार्टी नै परित्याग गरि स्वतन्त्र उम्मेद्वारी दिए । रुपन्देही–१ मा स्वतन्त्र उम्मेद्वारी दिएका भुसाललाई सत्तापक्षीय गठबन्धनले समर्थन गरेको छ । अन्य नेताहरु भने ओली पक्षमा रहेरै चुनावी मैदानमा छन् । उनीहरु रावल–भुसालको नियतिबारे टिप्पणी गर्न समेत नसक्ने अवस्थामा पुगेका छन् । यसरी ‘दश बुँदेवाला समूह’ तितरवितर भएपछि यो समूह निस्तेज भइसकेको निष्कर्ष ओली समूहले निकालेको छ ।

एमालेमा ‘दश बुँदेवाला समूह’ निस्तेज : पार्टी सत्ता प्राप्त गर्न महासचिव पोखरेलको नयाँ रणनीति

काठमाडौं। नेकपा एमालेको कञ्चनपुर चुनावी सभामा ‘भीम रावल, भीम रावल’ भन्दै एउटा समूहले हुटिङ गर्‍यो । हुटिङ गर्नेको अपेक्षा थियो होला– ‘रावललाई समेट्ने र सँगै लिएर हिँड्ने विषयमा ओलीले कुनै गम्भीर र जिम्मेवार टिप्पणी वा सार्वजनिक प्रतिबद्धता गर्लान् ।’

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले अपेक्षाको ठीक विपरीत टिप्पणी गरे–‘जीवनभरि मुख नबिसाई खाएकालाई किन सम्झिनुहुन्छ ? थुप्रै रावल छन् यहाँ, धेरै रावलहरूलाई अगाडि बढाउनु छ ।’ ओलीको यो अभिव्यक्ति अन्तरपार्टी लोकतन्त्र र पार्टीभित्र फरक मतलाई सम्मान गर्नु पर्ने मान्यता र प्रचलनविपरीत थियो । एमालेको छैठौं महाधिवेशनदेखि ओलीले एमाले भित्र फरक गुट चलाउन थालेका थिए भने आठौं महाधिवेशनदेखि अल्पमत पक्षका नेता रहँदै आएका थिए । तर, ओली अल्पमतमा रहँदा पार्टी संस्थापन पक्षले उनले रावलप्रति गरेजस्तो निम्नकोटीको टिप्पणी कहिल्यै गरेन।

भीम रावल एमाले दशौं महाधिवेशनमा ओलीका मुख्य वैचारिक प्रतिस्पर्धी, अध्यक्षका उम्मेद्वार र अल्पमत पक्षका नेता भए । तर, ओलीले रावललाई बाल मतलब नदिएको मात्रै हैन, उनको गृहप्रदेशमै गएर रावलको सार्वजनिक मानमर्दन गर्ने अभिव्यक्ति दिए ।ओलीको यो अभिव्यक्ति कुनै संयोग नभएर एमालेको आन्तरिक वृत्तको विश्लेषणबमोजिम थियो ।

त्यो के भने, एमालेभित्र ‘दश भैया समूह’ राजनीतिक तथा सांगठनिकरूपमा निस्तेज भइसकेको ओली पक्षको ठहर छ । यस समूहले जे जति हानी वा फाइदा गर्न सक्थ्यो भइसक्यो, अब यो समूह असान्दर्भिक भइरहेको हुँदा यसलाई महत्त्व दिइरहन जरुरी नभएको निष्कर्षमा पुगेर ओलीले यस्तो कञ्चनपुरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘दशबुँदे समूह’ को नियति

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको असंवैधानिक संसद विघठनको सवालमा त्यसको विपक्षमा रहेका तर, पार्टी विभाजन हुँदा माधब नेपाल पक्षमा नलागेका एमाले नेताहरूको समूमहलाई ‘दश बुँदेवाला’ भनिन्छ ।
यस समूहका मुख्य नेता भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य थिए । विगतमा माधव नेपाल र झलनाथ खनालको निकट रहेका नेताहरू अधिकांश ओली पक्षमै विलिन भए भने समूहका मुख्य दुई नेतालाई ओलीले एक्ल्याएर निस्तेज पार्ने रणनीति अख्तियार गरे ।

भीम रावललाई टिकट नै दिएनन् । अष्टलक्ष्मी शाक्यले टिकट लिन अस्वीकार गरिन् भने घनश्याम भुसालले पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिए । रुपन्देही–१ मा स्वतन्त्र उम्मेद्वारी दिएका भुसाललाई सत्तापक्षीय गठबन्धनले समर्थन गरेको छ । अन्य नेताहरू भने ओली पक्षमा रहेरै चुनावी मैदानमा छन् । उनीहरू रावल–भुसालको नियतिबारे टिप्पणी गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । यसरी ‘दश बुँदेवाला समूह’ तितरवितर भएपछि यो समूह निस्तेज भइसकेको निष्कर्ष ओली समूहले निकालेको छ ।

पोखरेलद्वय सबैभन्दा खुसी : नेम्वाङ र पौडेल भित्रभित्रै असन्तुष्ट

एमालेभित्र ‘दश बुँदेवाला समूह’ निस्प्रभावी र निस्तेज हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सबैभन्दा खुसी बनेका छन् भने उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल भित्रभित्रै असन्तुष्ट हुँदै गएको बताइन्छ । स्रोतका अनुसार पोखरेलद्वयले दश भैया समूह तितरवितर हुनु, भीम रावलले टिकट नपाउनु र घनश्याम भुसालले पार्टी परित्याग गर्नुलाई सहज, स्वाभाविक र आवश्यक मानेका छन्। उनीहरूले पार्टीभित्रका भविष्यका आफ्ना प्रतिस्पर्धी पन्छिएको अर्थमा लिएका छन्।

उनीहरूका लागि ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएर लगे’ जस्तो हाइसञ्चो भएको छ ।

तर, नेम्बाङ र पौडेलले भने यस घटनालाई कम्युनिस्ट आन्दोलनको सांगठनिक प्रस्तावना प्रचलन र पार्टी परम्परा र प्रचलनविपरीत भएको ठानेका छन् । यस्तो प्रवृत्ति बलियो हुँदै गएमा कम्युनिस्ट आन्दोलनमा एकताको भावना कमजोर र एमाले विरोधी गठबन्धन शक्तिशाली हुने हुँदा एमाले दशकौंसम्म सत्ताबाहिर रहनुपर्ने अवस्था आउन सक्ने उनीहरूको ठहर छ । तर, उनीहरू अध्यक्ष ओलीसँग यो कुरा खुलेर राख्न सक्ने अवस्थामा छैनन् ।

महासचिव पोखरेलको नयाँ रणनीति

आफूभन्दा पाका र वरिष्ठ नेताहरू बुढो हुँदै गएपछि र समकालीन पुस्ताको एउटा पंक्ति नै निस्तेज र बहिर्गमनको शिकार भएपछि महासचिव शंकर पोखरेलले एमालेभित्रको ‘डी फ्याक्टो नेता’ नेता आफूलाई ठान्न थालेका छन्।
यसपटकको टिकट वितरणमा ओलीमाथि सबैभन्दा बढी महासचिव पोखरेल हाबी भएको बताइन्छ ।

आगामी पार्टी महाधिवेशनसम्म अध्यक्ष ओलीलाई दुई कार्यकाल र ७० वर्षको उमेर सीमा दुवै लाग्ने हुँदा ओलीको शक्ति अधिकतम् ४ वर्षलाई मात्र भएको पोखरेलको ठहर छ । पोखरेल ओलीपछि एक कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्षमा ल्याउने योजनामा भएको बताइन्छ ।

त्यसो गर्दा आफू अध्यक्ष हुने बेलासम्म सबै वरिष्ठ र समकालीन नेतृत्व निवृत्त वा निस्तेज भइसक्ने र पार्टी नेतृत्व एकछत्र रूपमा आफ्नो हातमा आउने पोखरेलको विष्लेषण छ । महासचिव पोखरेल अहिले ५८ वर्षका मात्र छन्।

विद्या भण्डारी फर्केलिन् पार्टी राजनीतिमा ?

दुई कार्यकाल संवैधानिक राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि सक्रिय पार्टी राजनीतिमा फर्किनुलाई राम्रो प्रचलन र मर्यादा अनुरूपको व्यवहार मानिँदैन । यस्तो प्रचलन विश्वव्यापीरूपमा पनि छैन । नेपालमै पनि पहिलोे राष्ट्रपति डा. रामवरण यादवले सक्रिय राजनीतिको बाटो परित्याग गरी नजिर स्थापित गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी भने दोमनमा छन् । राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा भएपछि एकपटक पार्टी अध्यक्ष हुने इच्छा उनमा अझै तीव्र छ । उनी भर्खरै ६१ बर्षमा छन् । एमालेको पार्टी विधान, उमेर हद र दुई कार्यकालको प्रावधानले भण्डारीलाई छेक्दैन।

संवैधानिक राष्ट्रपति कार्यकाल पूरा गरेपछि सक्रिय राजनीतिमा नअनाउने प्रचलनबाहेक अरू सबै कुरा भण्डारीको अनुकूल रहेको बताइन्छ । दुई कार्यकाल पूरा गरेको संवैधानिक राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुन्न भन्ने प्रचलन कानुनी तथा संवैधानिक नभएर एक मर्यादित मान्यता मात्रै हो । राष्ट्रपति भण्डारी कार्यकाल पूरा गरेपछि सक्रिय पार्टी राजनीतिमा आइने भने उनलाई कसैले रोक्न सक्दैन ।

भण्डारीका संकेत

पछिल्लो समय राष्ट्रपति भण्डारी कार्यकाल पूरा भएपछि एमालेको सक्रिय राजनीतिमा फर्किनेछिन् भन्ने आशंका तीव्र भएको छ । त्यसको संकेत स्वयं भण्डारीले बारम्बार गरेको बताइन्छ । एमाले नेता कार्यकर्तासँगको भेटघाटमा उनले आफूलाई ‘पार्टीको चिन्ताले सताउने गरेको, ओली पक्षपछिका लागि अर्को उत्तिकै प्रभावशाली नेतृत्व तयार नभएको’ बताउने गरेकी छन् । उनको यस्तो अभिव्यक्तिबाट ओलीको दुई कार्यकालपछि उनी पार्टी अध्यक्ष हुन इच्छुक छन् भन्ने संकेत पाइन्छ ।

राष्ट्रपति भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण नगर्नुलाई पार्टी सक्रिय राजनीतिमा आउन सक्ने सम्भावनाका रूपमा हेरिएको छ। आफू पार्टी अध्यक्षका रूपमा सक्रिय राजनीतिमा फर्किन परे राष्ट्रवादको मुद्दालाई जीवित राख्न उनले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेको बताइन्छ ।

कहाँ छ ओलीको इच्छा ?

एमाले र माओवादी केन्द्र मिलेर नेकपा ( नेकपा) बन्दा ओलीले विष्णु पौडेललाई एकीकृत पार्टीको महासचिव बनाएका थिए । जबकि, त्यो पदको वास्तविक हकदार ईश्वर पोखरेल थिए । ईश्वर पोखरेल एमाले नवौं महाधिवेशनबाट निर्वाचित महासचिव थिए भने पौडेल उपमहासचिव । तर, ओलीले निर्वाचित महासचिवलाई थन्काउँदै उपमहासचिवलाई एकीकृत पार्टीको महासचिव बनाइदिए ।

त्यतिखेर, ओली आफ्नो उत्तराधिकारका रूपमा पौडेललाई अघि बढाउन चाहन्छन् भन्ने अर्थ लगाइएको थियो । तर, पछिल्लो समय ओली पौडेलप्रति खासै उत्साहित नभएको बताइन्छ। ओलीको रुचि र झुकाव पौडेलभन्दा राष्ट्रपति भण्डारी र महासचिव पोखरेलप्रति निरन्तर बढ्दै गएको बताइन्छ ।

शंकर–पौडेलबीच बढ्दो टक्कर

हिजो लुम्बिनी एमाले राजनीतिमा पौडेल, पोखरेल र घनश्याम भुसालबीच त्रिकोणात्मक शक्ति संघर्ष थियो । भुसाल र पोखरेलको सीधा प्रतिस्पर्धामा पौडेलले मध्यममार्गीको भूमिका गर्ने गर्दथे । भुसालले टिकट पाउन् भन्ने पौडेलको धारणा थियो । यसका दुईवटा कारण थिए– भुसालको कारणले पोखरेलको अति महत्त्वाकांक्षालाई सन्तुलन गर्न सजिलो हुनु पौडेलको ठहर थियो ।

अर्को बुटवलको शहरिया बौद्धिक मध्यम वर्गमा भुसालप्रतिको आकर्षण रहेको हुँदा त्यसले पौडेललाई चुनाव जित्न सजिलो बनाउँथ्यो । भुसालको पार्टी परित्यागसँगै रुपन्देहीको चुनावी राजनीति र समीकरण खजमजिएको छ । गठबन्धनका उम्मेद्वार राजु गुरुङ कायम रहेको भए पौडेल हार्नसक्ने सम्भावना थियो ।

मुख्य प्रतिस्पर्धीकै नामांकन खारेजी भएपछि पौडेलले थोरै आशाको सास फेरेका छन् तर, उनी आफ्नो निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचनमा जस्तो लोकप्रिय भने नरहेको बताइन्छ । महासचिव पोखरेलले भने पौडेल हारे हारून् भन्ने मानसिकता बनाएको बुझिन्छ । महासचिव पोखरेलको मनसाय पौडेलले पनि बुझेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved