काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
बुधबारको बहसमा नेपाल सरकारका तर्फबाट चार जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए। नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधीवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। त्यसैगरी वादीकै तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेका थिए।
प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस सकेका छन्। आजको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी गरिएको छ।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिल पक्षले प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन्। त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन्।
बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन्। प्रतिवादीका तर्फबाट किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन्।
प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएपछि वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दार्ता गरेको हो। लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गरिएको छ।
लामिछानेले हिरासतमा पर्नुअघि एक फेसबुक स्टेटस लेख्दै “आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने” जनाएका थिए। उनी प्रहरी हिरासतमा छन्।
Facebook Comment
Comment