पेट्रोल पम्पमा आगलागीमा परी घाइते भएका एकजनाको मृत्यु

नेपालभ्युज

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नितेश पेट्रोल पम्पमा आगलागी हुँदा एक साताअघि घाइते भएका एक जनाको आइतबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार पेट्रोल पम्पको काउन्टरमा लक्ष्मी पूजाको दिन (कात्तिक ७ गते) साँझ ७:४० बजेतिर आगलागी भएको थियो ।

आगलागीमा परेर पम्पका कामदार बूढीगंगा–४ का ३४ वर्षीय गान्धी मण्डल गम्भीर घाइते भएका थिए । उनको विराटनगरस्थित ग्रीन क्रस अस्पतालमा उपचार भइरहेको थियो ।

प्रहरीका अनुसार अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि आइतबार कीर्तिपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मण्डललाई राति मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटनामा अर्का कामदार बूढीगंगा–२ का ५५ वर्षीय अशोक चौधरी सामान्य घाइते भएका थिए । चौधरी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved