काठमाडौं। छठ हेर्न गएका मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राति उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।
दमक-१० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको बताए।
झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको कोइरालाले बताए। छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो।
उनीमाथि कसले छुरा प्रहार गर्यो भन्ने नखुलेको तर शंकास्पद समूहको भने पहिचान भएको कोइरालाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
Facebook Comment
Comment