काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका केहि जिल्लामा मौसम बदली भएको छ । केहि ठाउँमा पानी परेको छ भने हिमाली क्षेत्रमा हिउँ परेको छ । धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।
जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । शुक्रबार पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताए। उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
मापन भएको मौसम अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको हो ।
Facebook Comment
Comment