काठमाडौं। बाराको अमलेखगंजमा बिहीबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिकाको गएराती मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो। मृत्यु हुनेमा बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुने १७ जना सबैको सनाखत भइसकेको छ। मृत्यु हुनेमा हेटौंडा-७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा कलैया-१० का नगरिन खातुन, बारा अमलेखगञ्जका सुरेश विक, बारा कलैयाका इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा-१६ का सोम प्रसाद चौरसिया रहेका छन्।
त्यसैगरी चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी-५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा-१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका-६ का दया राउत शंकर, बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका-५ की नन्दकुमारी पुडासैनीको ज्यान गएको छ।
घाइतेहरुको हेटौंडा, चितवन तथा काठमाडौंमा उपचार जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको छ।
Facebook Comment
Comment