ताप्लेजुङ। ताप्लेजुङका नौ पालिकामध्ये ७ वटा गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । दुई वटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । सदरमुकाम फुङ्लिङमा पहिलो पटक २०७३ साल कार्तिक १३ गते राष्ट्रिय प्रसारण जोडिएको थियो ।
राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा ७ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख इन्जिनीयर प्रदिप कुमार शर्माले बताए ।
फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । फक्ताङलुङ गाउँपालिका जिल्लाको ठूलो तथा नेपालको तेस्रो ठूलो गाउँपालिका मानिन्छ । फुङिलङ नगरपालिकाका ९४ प्रतिशत घरधुरीमा पुगेको तर फुङलिङ नगरपालिकाको ११ नम्बर वडामा रष्ट्रिय प्रसारण लाइन नपुगेको प्राधिकरणका प्रमुख शर्माले बताए।
मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ ।पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजंगा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको विद्युत प्राधिकरण ताप्लेजुङको तथ्यांकमा उल्लेख छ ।
आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरधुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । २०७८ सालको राष्ट्रिय जनगणनामा प्रारम्भिक घरधुरी २६ हजार १ सय ३९ रहेका छन् । जसमा ५० देखि ५५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ ।
Facebook Comment
Comment