(व्यंग्यात्मक सेल्फ पोट्रेट)
–भूपी शेरचन
केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, विचार
‘भूपी’ शेरचन।
जसराज
–जसराज किराती
मसँगै उभेको / मसँगै सुतेको
निश्चय पनि यो जसराज हो।
ऊ एउटा पेट/ टाउको
अनि एक जोडा खुट्टा र दुइटा लुला हात हो
पुरुष र स्त्रीका पुत्र जसराज
कुखुराको झोले भेटे झोलै पनि तान्छ
गुन्द्रुकको झ्याम्टा भेटे झ्याम्टै पनि खान्छ
उसको पेटभित्र
जे पायो त्यै राख्ने एउटा खोर छ
खोरदेखि बाहिर खुब भए
बीस धार्नीको हाडखोर छ
त्यसलाई ऊ माटोमा धस्छ÷कागजमा घस्छ
र खोरमा कहिले चामल त कहिले पिठो भर्छ
यसै गरेर ऊ आफ्नो शरीरको स्याहार गर्छ ।
बिचरा जसराज !
खोर भर्न र हाडखोर ढाक्न
कहिले यहाँ÷कहिले उहाँ
जताततै दगुर्दै गरेको देखिन्छ
अक्सर किचिक्क हाँस्दै–
‘नमस्ते’ गर्दै गरेको भेटिन्छ।
कृष्णभक्त
–कृष्णभक्त श्रेष्ठ
कृष्णभक्त !
एउटा सिकारु कथाकारको बेढंगी नायक
उनन्चालीस वर्षसम्म
कसैलाई आफ्नो इन्तु–चिन्तु थाहा नदिएर
घरपेटी नभएको
डेराको मटानमा एक रात
अविवाहित अवस्थामै बेवारिसे मृत्यु मर्छ
दुई दिनपछि अड्डा बस्छ
नाम मात्रको सर्जमीनपछि
मृत्यु–संस्कारको
चार कप्टेरा दाउराको चितामा पोलिन्छ
उसको सिरीखुरी एउटा टिनको बाकस
कीराले खाएको एक जोर सारी
एउटा दोसल्ला
रातो धागो र पोते लीलाम हुन्छ ।
कृष्णभक्त !
कुमारीचोकको नौसिन्दा
तीन वर्ष लडेर
घूस–मुद्दाको सफाइ पाउँछ
अनि चालीस वर्षको अविच्छिन्न नोकरीपछि
साठी वर्षको हद पुग्छ
दीर्घ–सेवा–पदक पाउँछ
रिटायर्ड हुन्छ
ढाक्रे बन्छ
नाति–नातिनीहरूको मलमूत्र स्याहार्दै
घरैमा बसी–बसी
प्रतिवर्ष
एक सय बीस रुपैयाँको पेन्सन खान्छ
घरी–घरी छोरा–बुहारीको लात खाई
मिल्किएर दिन बिताउँछ।
कृष्णभक्त !
बेइमान आसामी
धेरैको पैसा पचाइसकेको साहूमारा
लिएको पैसा तिर्नुपर्ला भनी
प्रतिवादी दिन्छ
बिन्तीपत्र चढाउँछ
सात वर्ष अड्डा धाउँछ
हारेपछि
का. इ. झोंछे बस्ने साहू बेखाचासँगको लेनदेन मुद्दामा
निज साहूले भरी पाउने बिगोमा
निज कृष्णभक्तको टुकुचाको कच्ची घर एक
र घरसँगै जोडिएको आधा रोपनी खेत
अ. त. बिगो फाँटबाट
फलानो मितिमा लीलाम हुन्छ
आफ्नो घर–खेत लीलाम हुँदा पनि आफैँले
सहीछाप गर्छ
पुरानो चोर कृष्णभक्त
बल्ल–तल्ल फेला पर्छ
कृष्णभक्त !
आर.टी.ओ.को मरन्च्याँसे पिउन
कुइँ–कुइँ कुइँकिने
वार क्वालिटीको साइकल चढेर
कहिले जी.पी.ओ. त कहिले सचिवालय
कहिले इन्जिनियरको चाकडीमा
बिदाको दिनमा समेत
घर–घर धाउँछ
कहिले साइकल पञ्चर भई
बाटैमा अलपत्र पर्छ
कहिले ब्रेक चुँडेर
आनन्द निकेतनदेखि कोपुन्डोलसम्म
चाल्नै नपर्ने गरी दौडन्छ
कहिले त्रिपुरेश्वरको सालिकमा
ह्यान्डिल मोडेको मोड्यै
अफिस गएको मान्छे
विश्वविद्यालयको ढोकामा जोतिन पुग्छ
मामूली चोट लाग्दा
अड्डामा हप्ता दिनको
बिरामी बिदा जनाउँछ
घरमा बसी
कान्छीसँग जिस्कन्छ।
कृष्णभक्त !
यस कविताका लेखक
गोरखापत्र पढी फिस्स हाँस्छ
फिस्स हाँस्छ : फिस्स हाँस्छ
फिस्स हाँस्छ : फिस्स हाँस्छ।
रमेश तूफान नाम हुनुलाई
–रमेश तूफान
यसलाई भिरेर म
मेरो आफ्नोपन ढाकिरहेछु /छोपिरछु
र वास्तवमा म
मानिसको अस्तित्वबाट विमुख
चिन्नेहरू मलाई खालेमा नाम चिनिरहेछन्
र म आफू हुनुको अस्तित्व
नामहरूका हाटमा खोजिरहेछु ।
किन र केका लागि
यी आवश्यक ठानिन्छन्
मैले बुझ्न सकिनँ
किन भने
बाँच्नु नै जिन्दगीको लक्ष्य हो भने
मानिस दास पनि बाँच्न सक्छ
जिन्दगी उपेक्षित घिसार्न पनि सक्छ
तसर्थ मानिस हुनु अर्थको लागि
केवल नाम हुनुको सार्थकता केही छैन
नाम– प्रशंसाको प्रमाणपत्र, केवल एउटा प्रतीक
नाम– बदनामीको कालोपत्र, केवल एउटा प्रतीक
मलाई औपचारिकताका यी नामहरू
आजकल अमन भएको छ
मलाई मानिस हुनुको पिनास
ती स्वाभिमानहरू
ज्याद्रो हुन थालेको छ आजकल
लाग्छ, खोलिदिऊँ शरीरबाट यसलाई
र हुत्याइदिऊँ कतै
अथवा फिँजाएर घरहराका हाटहरूमा
सेकेन्ड ह्यान्ड बेचिदिऊँ
कुनै बेला
यस्तो पनि लाग्छ
जडौरी बनाएर यसलाई
जिम्मा लगाइदिऊँ
नयाँ सडकका ती कुष्ठरोगीहरूलाई
वा कात्रो बनाएर चितासँगै
जलाइदिऊँ ह्वारह्वारती
मानिस हुनुको अर्थ शून्य भएर हो कि !
मलाई पर्यावरणको मानिस अमान्य छ/विरोध छ
तसर्थ म
मुर्दावादको पक्ष बाँचिरहेछु
केवल नाम हुनुको औपचारिकतामा
म अत्याचारको कारण बाँचिरहेछु
केवल मानिस हुनुको पिनास स्वाभिमानमा ।
हिरा आकाश
–हिरा आकाश
एक त साहित्यले गर्दा
सदा ऊ श्रीमतीको ‘हूक’ भएको छ
त्यसमाथि थप
छोराछोरीको पापा–नानाको
सन्दूक भएको छ
के बताऊँ कि यार हिजोआज
हिरा कहाँ ‘बूक’ भएको छ
स्वास्नी सुत्केरी छे
त्यसैले आजभोलि
ऊ आफैँ ‘कूक’ भएको छ ।
(सेल्फ पोट्रेट)
००
Facebook Comment
Comment