काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाटै निलम्बन गरेको छ ।
बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।
लामिछाने विरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी छन् । छानबिन सहज बनाउन उनलाई क्यानले निलम्बन गरेको हो । जिल्ला अदालत काठमाडौंले बिहिबार उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।
सन्दीप हाल सीपीएल खेल्न वेस्ट इन्डिजमा छन् । उनले प्रतियोगिता सकिएपछि मात्रै फर्कने बताएका छन् । विदेश जानु अघिल्लो रात होटलमा लगेर बलात्कार गरेको भन्दै १७ बर्षिया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन ।
अदालतले पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comment
Comment