नयाँ दिल्ली। भारतीय शीर्ष नेताको हत्या गर्ने व्यक्ति पक्राउ गरेकोमा भारतले रुसलाई धन्यवाद दिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिँहले भारतीय नेताको हत्याको योजना बनाइरहेका एक आईएस लडाकुलाई पक्राउ गरेकोमा धन्यवाद दिएको एनडीटीभीले जनाएको छ । संघाइ सहयोग संगठनको सम्मेलनका क्रममा सिँहले रुसी सककक्षी सर्गेइ शोइगुलाई धन्यवाद दिएका हुन् ।
भारतका शीर्ष नेताको हत्या योजना बनाइरहेका अन्तर्राष्ट्रिय इस्लामिक संगठन आईएसका एकजना लडाकुलाई गत सोमबार रुसले पक्राउ गरेको थियो । पैगम्बर मोहम्मदप्रति अपमानजनक टिप्पणी गरेको आरोपमा भारतका केहि शीर्ष नेतामाथि आत्मघाती हमलामार्फत हत्याको योजना बनाएका एक लडाकु पक्राउ परेका हुन् ।
उनले टेलिग्राममार्फत विभिन्न व्यक्तिसँग गरेको कुराकानीका आधारमा भारतमा आत्मघाती हमला गर्ने र शीर्ष नेताको हत्याको योजना बनाएको खुलेको एफएसबीले जनाएको छ । बयानका क्रममा पनि उनले योजना बनाएको स्वीकार गरेका छन् ।
भारतीय जनता पार्टीकी तत्कालिन प्रवक्ता नुपुर शर्मा र दिल्लीका प्रवक्ता नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदको अपमान हुनेगरी टिप्पणी गरेको भन्दै चौतर्फी विरोध भएको थियो । भाजपाले दुवैलाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको छ । यसै विषयलाई लिएर अरबका देश र भारतबीचको सम्बन्धमा पनि तनाव उत्पन्न भएको थियो ।
Facebook Comment
Comment