चीनको अनुसन्धान पानीजहाज श्रीलङ्का पुग्यो, भारतको आपत्ति

भारतको बिरोधकाबीच चीनले अनुसन्धानमा प्रयोग गर्ने एउटा पानी जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाहमा पुगेको छ ।

नेपालभ्युज

चीनको अनुसन्धान पानीजहाज श्रीलङ्का पुग्यो, भारतको आपत्ति
श्रीलङ्का पुगेको चीनको युवान वाङ ५ नामक पानी जहाज । तश्वीर: रोयटर्स

नयाँ दिल्ली। भारतको बिरोधकाबीच चीनले अनुसन्धानमा प्रयोग गर्ने एउटा पानी जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाहमा पुगेको छ । अनुसन्धानका लागि अत्याधुनिक उपकरणहरू जोडिएको जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै भारतले आपत्ति जनाएको थियो । तर भारतीय विरोध बाबजुद जहाज श्रीलङ्का पुगेको हो ।

युवान वाङ ५ नामको जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने सर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति मात्रै दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाज बन्दरगाहमा अगस्ट २२ तारिखसम्म रहने जानकारी दिएको छ । हम्बानटोटा बन्दरगाह चीनले नै सञ्चालन गरिरहेको छ ।

श्रीलंकाको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेराथले भारतको चिन्ता र चासो स्वभाविक नरहेको बताएका छन् । उनले श्रीलंकामा कुनै पनि देशको विरुद्धमा गतिविधि हुन नदिइने भएकाले भारतले चिन्ता लिनु आवश्यक नरहेको बताएका छन् ।

भारत, चीन, रुस, जापान लगायत देशका नौसैनिक जहाजले अनुसन्धानको लागि बेला बेला आफ्नो देशसँग अनुरोध गर्ने र आफूहरुले पनि अनुमति दिने गरेको प्रवक्ता हेराथले बताएका छन् । परमाणु सक्षम जहाजले अनुमति मागेमा भने श्रीलंकाले अनुमति नदिने पनि उनले प्रष्ट पारेका छन् ।
श्रीलंका पुगेको चिनियाँ जहाज अत्याधुनिक मध्येको एक हो । यो जहाजले परमाणु उर्जा संयन्त्र र सैन्य बेसको समेत निगरानी गर्ने क्षमता राख्दछ ।

भारतको रक्षा मन्त्रालयका एक अधिकारीले हिन्द महासागरमा प्रभावको लागि भारत र चीनले प्रतिष्पर्धा गरिरहेको अवस्थामा चीनले यस्ता गतिविधिबारे जानकारी दिनुपर्ने बताएका छन् ।

चीनका जहाज यसअघि पनि पटक पटक भारतको जलक्षेत्रमा प्रवेश गरेको तर जानकारी नदिएकाले शंका गर्ने ठाउँ रहेको ति अधिकारीले बताएका छन् ।

पछिल्लो समय अर्थतन्त्र टाट पल्टिएर समस्यामा परेको श्रीलङ्कालाई सहयोग पठाउनेमा सबैभन्दा अगाडि रहेको भारत यो घटनाबाट चिढिन सक्ने भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved