कर्णालीमा तीन वर्षमा ९२९ दुर्घटना, ३९२ जनाको मृत्यु

कर्णालीमा तीन वर्षमा ९२९ दुर्घटना, ३९२ जनाको मृत्यु

सुर्खेत। कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा भएका ९ सय २९ वटा दुर्घटनामा ३ सय ९२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६\०७७, आर्थिक वर्ष २०७७\०७८ र आर्थिक वर्ष २०७८\०७९ सवारी साधन दुर्घटनाको विश्लेषणमा यी घटना भएका हुन्।

आर्थिक ०७६\०७७ मा २३६, ०७७\०७८ मा २९१ र ०७८\७९ मा ४०२ दुर्घटना गरेर जम्मा ९२९ दुर्घटना भएको तथ्याङ्क छ। ती दुर्घटनामा परि आर्थिक वर्ष ०७६\०७७ मा ९७ जना, ०७७\०७८ मा ९८ जना र ०७८\०७९ मा १९७ जना गरेर जम्मा ३९२ जनाले ज्यान गुमाएका छन्।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष ०७६\०७७, ०७७७\०७८ र ०७८\०७९ मध्ये सबैभन्दा बढी सवारी दुर्घटना ०७८\०७९ मा भएका छन्। सबैभन्दा कम सडक दुर्घटना ०७६\०७७ मा देखिन्छ।

प्रतिशतका हिसाबले हेर्ने हो भने आर्थिक वर्ष ०७६\०७७ भन्दा ०७७\०७८ मा ५ प्रतिशतले बढेको देखिन्छ। आर्थिक वर्ष ०७७\०७८ भन्दा ०७८\०७९ मा १२ प्रतिशतले बढी सवारी दुर्घटना भएको देखिन्छ। यसको मुख्य कारण आर्थिक वर्ष ०७६\०७७ मा कोरोना भाईरसको कारणले लकडाउन भएको बेला सवारी साधन कम चलेकोले सवारी दुर्घटना कम भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको विश्लेषण रहेको छ।

जिल्लागत हिसाबले तीन वर्षको अवधिमा सुर्खेतमा सबैभन्दा बढी १८७ र डोल्पामा सबैभन्दा कम हुम्लामा ३ वटा सवारी दुर्घटना भएका छन्। त्यस्तै, दैलेखमा ४४, जाजरकोटमा २६, सल्यानमा ५५, पश्चिम रुकुममा ३५, डोल्पामा ६, मुगुमा ७, जुम्लामा २३ र कालिकोटमा १७ गरेर ४०३ वटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनाको मूख्य कारण तीव्र गति

ट्राफिक कार्यालयले दुर्घटनाको कारणको आधारमा विश्लेषण सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने गरेको जनाएका छ। त्यस्तै, यान्त्रिक, सडकको अवस्था र लापरबाहीको कारणले, ट्राफिक नियम उल्लंघनको कारणले दुर्घटना भएको जना जनाएको छ। तीनवटै आर्थिक वर्षमा दुर्घटना कारणको आधारमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने र दोस्रो कारण यान्त्रिक कारणले दुर्घटना हुने गरेको जनाएको छ।

कर्णाली प्रदेशमा सवारी चाप, भौगोलिक अवस्था, कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा अभाव र आम जनमानसमा नियम पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) कारण प्रदेशमा दिनानुदिन सवारी दुर्घटनाहरूबाट मृत्यु हुने र घाइते हुने सङ्ख्या बढ्दो रहेको कर्णाली प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।

प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा यस आर्थिक वर्ष २०७८\०७९ मा मानिस मृत्यु १९७ जना, गम्भीर घाइते ३६२ जना, सामान्य घाइते ५८८ जना भएका छन्। सवारी दुर्घटना सङ्ख्या ४०२ रहेको छ। साथै ४८१ वटा सवारी साधनहरूमा आंशिक तथा पूर्ण क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ।

सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अङ्गभङ्ग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको पाइन्छ। यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, बिमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि प्रहरी विश्लेषण रहेको छ।

दुर्घटना कम गर्न यस्तो छ प्रहरीको सुझाव

कर्णाली प्रदेशलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्र बनाउनको लागि ट्राफिक प्रहरीले प्रदेश, जिल्ला र पालिका स्तरीय सडक सुरक्षा सम्मेलन गरी सरोकारवाला निकायहरूलाई प्रतिबद्धता कार्ययोजना बनाउन आग्रह गरेको छ।

कार्ययोजना बनाई निरन्तर रूपमा समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके सम्भावित दुर्घटना कम गर्न सक्ने सुझाव दिएको छ।

त्यस्तै, समग्रमा कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्न गराउनुपर्नेमा जोड दिइएको छ।

ट्राफिक सचेतनात्मक कार्यक्रमलाई नियमित प्रभावकारी बनाउन बजेटको विनियोजन हुने व्यवस्था मिलाइनुपर्ने आवश्यकता रहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved