सुर्खेत। दैलेखको गुराँस गाउँपालिकामा कार्यालयमा भएको घटनाको विषयमा गठित छानविन समितिले काम थालेको छ।
घटना छानबिनका लागि शनिबार पाँचसदस्यीय समिति बनाइएको थियो।
दुल्लु नगरपालिका प्रमुुख प्रशासकीय अधिकृत ज्ञाममणि नेपालको संयोजकत्वमा गठित छानबिन समितिमा सदस्यमा निमित्त जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्यसचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा छन्।
समितिले घटनाका विषयमा पहिलो चरणको काम शुरु गरेको छानबिन समितिका संयोजक नेपालले बताए। “समितिले १५ दिनभित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वयमा पेस गर्नुपर्ने छ,” उनले भने, “घटनाका घाइते वा अन्य पक्षसँग कुराकानी शुरु गरेका छौं।”
घाइतेको उपचार खर्च गाउँपालिकाले बेहोर्ने
गोली लागेर घाइते भएका भवानीप्रसाद भट्टराई र बखतबहादुर खत्रीलाई गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले भेटेका छन्। आइतबार दिउँसो अध्यक्ष बिसीले घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पुगेर भेटेका हुन्। उनीहरूको उपचार खर्च गुराँस गाउँपालिकाले बेहोर्ने भएको छ।
भेटमा अध्यक्ष बिसीले यो घटनामा सामान्य नभएको बताए। “तपाईहरुको उपचार खर्चमा कुनै कसर बाँकी राखिदैन,” घाइतेहरूसँग उनले भने, “त्यसका लागि म अस्पताल प्रशासनसँग र सरकारसँग पनि कुरा गर्छु।”
प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते हुने भट्टराई स्थानीय व्यापारी हुन् भने खत्री वडा नं १ का कार्यालय सहयोगी हुन्।
Facebook Comment
Comment