काठमाडौं। पाहुना टोली भारत तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट खेलमा आज इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार ३ः४५ बजे मेन्चेस्टरमा हुँदैछ।
तीन खेलको श्रृंखलामा दुवैले एक/एक खेल जितेकाले यो अन्तिम खेल उपाधिका लागि निर्णायक खेल हो। यदि यो एकदिवसीय श्रृंखलाको निर्णायक खेल जितेमा भारतले उपाधिसँगै इंग्ल्याण्डसँगको आफ्नो ३६ वर्ष पुरानो कीर्तिमानलाई पनि दोहोर्याउने छ।
खेल जितेमा भारत इंग्ल्याण्ड भ्रमणका दौरान ‘मल्टी फर्म्याट’ क्रिकेट श्रृंखलामा अपराजित रहँदै घर फर्किने छ। भारतले यसअघिको तीन खेलको टी–ट्वान्टी श्रृंखला २–१ ले जितेको थियो भने पाँच खेलको टेष्ट श्रृंखला भने दुई/दुईको बराबरीमा सक्काएको थियो।
आजको खेलमा जित आत्मसात गर्दै भारत एकदिवसीय श्रृंखला पनि जित्न चाहन्छ। यदि त्यसो भएमा भारतले सन् १९८६ मा बनाएको कीर्तिमानलाई दोहोर्याउने छ।
यसअघि पछिल्लो पटक सन् १९८६ को इंग्ल्याण्ड भ्रमणका क्रममा ‘मल्टी फर्म्याट’ क्रिकेट श्रृंखलामा भारत अपराजित रहेको थियो। उक्त समयको इंग्ल्याण्डसँगको टेष्ट श्रृंखला २–० ले जितेको भारतले एकदिवसीय श्रृंखला भने एक/एकको बराबरी गरेको थियो।
आजको खेल हुने मेन्चेस्टरको मैदानलाई ब्याटिङमैत्री मैदान मानिन्छ। यसअघि यस मैदानमा भएका पछिल्ला नौ एकदिवसीय खेलमा पहिले ब्याटिङ गरेको टिमले २९० प्लसको स्कोर बनाएको रेकर्ड छ।
बलिङमा राम्रो प्रदर्शन गरिरहेको भारतले श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्न आजको खेलमा ब्याटिङमा सुधार गर्नुपर्नेछ।
जारी एकदिवसीय श्रृंखलाको पहिलो खेलमा सान्दार बलिङको मद्दतले घरेलु टिम इंग्ल्याण्डलाई ११० रनमा अलआउट गरेको भारतले खेल १० विकेटले जितेको थियो। तर दोस्रो खेलमा ब्याटिङक्रम ध्वस्त हुँदा भारतले १४६ रन मै अलआउट हुँदै १०० रनको हार व्यहोरेको थियो।
Facebook Comment
Comment