सुर्खेत। कर्णाली प्रदेशसभामा पेश भएको विधेयक पारित गराउन दबाबमूलक प्रदर्शन गरिएको छ।
विधेयक सरोकार समाजले कर्णाली प्रदेशसभा अगाडि प्रदर्शन गरेको हो। कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अविलम्ब पारित गर्न दबाबमूलक विधेयक ऐक्यबद्धता कार्यक्रम गरेका हुन्।
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नवप्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक अबिलम्व पारित गर्न सांसद र सरकारलाई दबाब दिन प्रदर्शन गरिएको हो।
सरकारले आफैंले २०७७ कार्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो। यो सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ। अढाई वर्षसम्म पर्वतीय विश्वविद्यालय समितिमै अड्केको छ।
प्रदेशसभा सदस्य भण्डारी आफैले २०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव-प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैर-सरकारी विधेयक हुन्।
संसदमा पेश भएका विधेयकलाई रोक्न चलखेल शुरु भएकाले त्यसलाई पारित गराउन दबाबमूलक कार्यक्रम गरिएको सांसद नरेश भण्डारीले बताए। “कर्णाली समृद्धि र स्वाभिमानका आधारस्तम्भहरू सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयकलाई पारित भए कर्णालीमा अर्को समृद्धि आउँछ,” उनले भने।
Facebook Comment
Comment