भारतीय कांग्रेस नेता तथा अभिनेता राज बब्बरलाई लखनउको सांसद-विधायक अदालतले बिहीबार दुई वर्षको जेल सजाय सुनाएको छ।
यससँगै ८ हजार ५ सय रुपैयाँ जरिवानासमेत गरिएको छ। राज बब्बरलाई २६ वर्ष पुरानो मुद्दामा अदालतले सजाय सुनाएको हो। तर, यस मुद्दामा अदालतले उनलाई अन्तरिम जमानत पनि दिएको छ।
अब उनले राहत पाएको ३० दिनभित्र माथिल्लो अदालत जानुपर्नेछ। फैसला सुनाउँदा राज बब्बर अदालतमा उपस्थित थिए। उनले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिने बताए।
उनले लखनउको वजिरगञ्जमा निर्वाचन अधिकारीमाथि कुटपिट गरेका थिए। त्यसबेला राज बब्बर सपाका उम्मेदवार थिए। २ मे १९९६ मा मतदान अधिकृत श्रीकृष्ण सिंह राणाले सपा उम्मेदवार राज बब्बर र अरविन्द यादवलगायत अज्ञात व्यक्तिविरुद्ध वजिरगञ्ज प्रहरी चौकीमा एफआईआर दर्ता गरेका थिए। यस विषयमा अहिले अदालतले फैसला गरेको छ।
मतदान केन्द्र नम्बर १९२-१०३ को बुथ नम्बर १९२ मा मतदाता आउन छाडेको उनले बताए। त्यसपछि वादी मतदान केन्द्रबाट बाहिरिएर खाना खान जाँदै थिए।
यसैबीच सपाका उम्मेदवार राज बब्बर आफ्ना सहकर्मीसहित मतदान केन्द्रमा आएर बोगस मतदानको झुटो आरोप लगाएका थिए। सरकारी काममा अवरोध गर्दा उनलाई कुटपिट गरिएको थियो।
अहिले राज बब्बर कांग्रेसका नेता हुन्। उनी यूपी कांग्रेस पार्टीको प्रदेश अध्यक्ष पनि भइसकेका छन्।
उक्त मुद्दाको अनुसन्धानपछि २०७२ चैत ९ गते राज बब्बर र अरविन्द यादवविरुद्ध धारा १४३, ३३२, ३५३, ३२३, ५०४, १८८ आईपीसी र जनप्रतिनिधित्व निरोधक ऐनअन्तर्गत ७ वटा फौजदारी मुद्दामा अदालतमा आरोपपत्र दायर गरिएको थियो।
Facebook Comment
Comment