ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ। मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ।

नेपालभ्युज

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबल आइएमई र बैंकअफ काठमाण्डूले एकापसमा गाभिने निर्णय गरेका हुन्। दुई बैंकबीच एकापसमा गाभ्न/गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै ५२ अर्ब रुपैयाँ कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ। यसअघि ग्लोबल आइएमई बैंकमा बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृतका रूपमा थिए।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्व हाललाई एक अनुपात एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ। कूल २१ बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित भएको इतिहाससमेत बन्नेछ।

मर्जरपश्चात बैंकको कूल पूँजी ५२ अर्ब २९ करोड रुपैयाँ बराबर हुनेछ। चुक्ता पूँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा समेत स्थापित हुनेछ।

साथै दुवै बैंकले गत जेठ मसान्तसम्म छ अर्बभन्दा बढी रुपैयाँ खुद नाफा आर्जन गरिसकेका छन्। दुई बैंकहरूका ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनओटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

शेयर कारोबार रोक्का

नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरिदिएको छ। दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved