काठमाडौं। रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशको हितको विषयमा छलफल भएको थियो।
रसियाका खेलकुदमन्त्री आलेगले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताएका थिए। नेपालको खेल क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका थिए।
मन्त्री अथकले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे। उनले नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुने विश्वास व्यक्त गरे।
Facebook Comment
Comment