महिला टी–ट्वान्टी क्रिकेट : विश्वकप छनोटबाट बाहिरियो नेपाल

आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

नेपालभ्युज

महिला टी–ट्वान्टी क्रिकेट : विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं। आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ।

मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो। जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो।

नेपालकी सृष्टि जैशीले २१ बलमा ७ तथा साना प्रविनले २१ बलमा ६ रन बनाइन्। यस्तै अनु कडायतले ५, अञ्जली विश्वकर्मा, कृतिका मरासिनी र मनिषाकुमारी उपाध्यायले तीन/तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक एक रन बनाए।

बलिङतर्फ थाइल्यान्डकी नथिता बुनसुखमले ३ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो। थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन। यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन। बलिङतर्फ नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई तथा स्नेहा महराले एक विकेट लिइन्।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोली यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved