रूस-युक्रेन युद्धको १०० दिन पूरा, के-के भए यसबीचमा ?

नेपालभ्युज

रूस-युक्रेन युद्धको १०० दिन पूरा, के-के भए यसबीचमा ?
रूस-युक्रेन युद्धको एक तस्वीर।

एजेन्सी। रूस-युक्रेनबीचको युद्धको चार महीना पूरा भएको छ। समय बित्दै जाँदा यी दुई देशबीचको युद्धको समाचार पनि कम हुन थालेका छन्। शुरुआती चरणमा जुन घनत्वमा यी दुई देशबीचको युद्धको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पाउने गर्थे त्यो कम हुँदै गएको हो।

रूस-युक्रेन युद्धको आज एक सय दिन पुगेको छ। युद्धको सय दिन पुग्दै गर्दा युद्ध समाप्त हुने संकेत भने देखिएको छैन। २२ फेब्रुअरी २०२२ मा रूसले युक्रेनको पूर्वी भाग दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दियो। यो क्षेत्रमा सन् २०१४ यता युक्रेनी सेना र पृथकतावादी सेनाबीच युद्ध हुँदै आएको थियो। यही युद्धको हवला दिँदै रूसले युक्रेनले देशको पूर्वी भागमा हिंसात्मक गतिविधि चलाएको आरोपमा उक्त क्षेत्रमा सैन्य कारवाहीको शुरुआत गर्ने निर्णय गर्यो २४ फेब्रुअरी २०२२ मा।

रूसी राष्ट्रपतिको यो निर्णयसँगै रूसी सेना युक्रेन पस्यो। युक्रेनको राजधानी किभसहित अन्य शहरमा हवाई आक्रमण शुरु गर्यो। रूसी आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशभर आपतकालको घोषणा गरे। घोषणासँगै १६ वर्षमाथिका युवाहरुलाई देश छोड्न प्रतिबन्ध लगाउने निर्णय राष्ट्रपति जेलेन्स्कीले गरे। युद्धकै दौरान २८ फेब्रुअरीमा रूसी र युक्रेनी पक्षबीच पहिलो चरणको वार्ता भयो। वार्ता युक्रेन-बेलारूस सीमा क्षेत्रमा भएको थियो।

यो वार्तामा दुवै पक्ष आ-आफ्नो मागमा अडिग रहे। रूसले युक्रेनलाई सैनिकीकरण गर्ने दिशाबाट पछि हट्न माग राखेको थियो जुन प्रस्तावलाई युक्रेन स्वीकार गर्न तयार भएन। पहिलो वार्तापछि यी दुई देशबीच कैयौँ चरणको वार्ता भएका छन्। तर कुनै पनि वार्ताले मूर्तरुप लिन सकेको छैन। यसबीच संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायले दुई देशलाई शान्ति स्थापनाको आग्रह गरेका छन्। आग्रह निष्प्रभावि देखिएका छन्।

युद्धको शुरुआतमा रूसी सेनाले युक्रेनको राजधानी किभ नियन्त्रणमा लिने प्रयास नगरेको होइन तर ऊ सफल हुन सकेन। निरन्तरको प्रयास असफल भएपछि अप्रिलमा रूसले किभबाट आफ्नो सेनापछि हटायो। किभबाट सेनापछि हटाउने निर्णय गरेको रूसले युक्रेनबाट नै सेना फिर्ता बोलाउने आशा गरिएको थियो। तर, त्यो आशा साकार भएन। किभ नियन्त्रणमा लिन नसकेको रूसले त्यसपछि युक्रेनका साना साना शहरमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ।

हालको युक्रेनको अवस्था

पछिल्लो समय युक्रेनको सब्रोदोनेत्स्क शहरमा सबैभन्दा ठूलो लडाइँ भइरहेको छ। यो शहर पूर्वी युक्रेनको दोनबास क्षेत्रमा पर्छ। रूसी सेनाको आक्रमणमा यो शहरको करीब ९० प्रतिशत पूर्वाधार क्षति भएको छ। सब्रोदोनेत्स्कका मेयरले त्यहाँ पानीको आपूर्ती खतम भएको बताएका छन्। युक्रेनको सेनाले रूसी सेनाको आक्रमणको जवाफ दिएको छ तर ठूलो संख्यामा रहेका रूसी सेनालाई रोक्ने सामर्थ्य युक्रेनी सेनासँगै छैन।

युक्रेनमा युद्ध शुरु भएपछि २९ मार्चमा त्यहाँका राष्ट्रपति पहिलो पटक राजधानी बाहिर खार्किव शहरको भ्रमणमा गएका थिए। उक्त भ्रमणमा उनले खार्किबका प्रमुख सुरक्षा अधिकारीलाई निलम्बन गरे। त्यहाँका प्रमुख सुरक्षा अधिकारीलाई हमलाको समयमा शहरको भन्दा बढी आफ्नो सुरक्षाको चिन्ता गरेको आरोप थियो। अहिले खार्किबको एकतिहाइ क्षेत्र रूसको नियन्त्रणमा छ।

३० मेमा फ्रान्सकी विदेशमन्त्री क्याथ्रिन कोलाना युक्रेनको राजधानी किभ पुगिन्। त्यहाँ उनले युक्रेनका राष्ट्रपति जेलेनेस्कीसँग भेट गरिन्। फ्रान्सलाई युक्रेनलाई सहयोग गर्न दबाब बढ्दै गर्दा विदेशमन्त्री कोलानाले युक्रेनको राजधानीको भ्रमण गरेकी थिइन्। रूस युक्रेनबीचको युद्ध शुरुभए पनि कुनै पनि फ्रान्सेली उच्च अधिकारीले युक्रेनको भ्रमण गरेको यो नै पहिलो घटना थियो। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि युद्धग्रस्त युक्रेनको भ्रमणमा पुगेका थिए।

आफूले नियन्त्रणमा लिएको युक्रेनी भूभागबाट रूसले खाद्यान्न चोरी गरेका समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए। सेटेलाइटबाट लिइएको तस्वीरमा युक्रेनबाट चोरीको खाद्यान्न २७ मेमा सिरियाको तटमा पुगेको देखिन्छ। युक्रेनबाट रूसले विमानको सहायताले खाद्यान्न चोरी गरेको आरोप छ। युक्रेनले मे महीनाभित्र रूसले चार टन खाद्यान्न चोरी गरेको आरोप लगाएको छ।

रूसी कदम

रूसका विदेशमन्त्री सर्गेई लाभ्रोसले युक्रेनको पूर्वी भागमा रहेको दोनबासलाई पूर्ण रुपमा युक्रेनको नियन्त्रणबाट अलग गराउन रूस सक्षम रहेको बताएका छन्। आफ्नो यो रणनीति पूरा हुनुअघि आफ्नो सेना युक्रेनबाट पछि नहट्ने संकेत उनले दिएका छन्।

केही समयदेखि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको समाचार तीव्र रुपमा आइरहेको थियो। समाचारमा पुटिनलाई ब्लड क्यान्सर भएको र चिकित्सकहरुले उनलाई तीन वर्षको समय दिएको उल्लेख थियो। उनलाई उभिन समस्या हुने गरेको र हात काप्ने गरेको समाचारहरु आएका थिए। चिकित्सकहरुले पुटिनलाई अपरेशनको सुझाव दिएको समाचार पनि प्रकाशित भए।

अपरेशन भएको खण्डमा पुटिनले देशको बागडोर आफ्ना विश्वासिलो व्यक्तिलाई दिने बताइएको थियो। तर रूसका विदेशमन्त्री लाभ्रोसले यो समाचारलाई गलत बताएका छन्। फ्रान्सको एक समाचार माध्यमलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोसले भनेका छन्, ‘कुनै समाझदार मान्छेले पुटिनलाई कुनै रोग लागेको आशंका गर्दैन होला। तपाईंहरु सबैले पुटिनलाई दैनिक टेलिभिजनमा देख्न सक्नुहुन्छ, उहाँको भाषण सुन्न र हेर्न सक्नुहुन्छ।’

२८ मेमा पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र जर्मनीका चान्सरल ओलाफसँग भेट गरेका थिए। यो भेटघाट करीब डेढ घण्टा चलेको थियो। यो भेटघाटमा हतियार र खाद्यान्न आपूर्तिका विषयमा छलफल भएको बताइन्छ। पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्न बन्द गर्न आफ्ना दुई समकक्षीसँग आग्रह गरेका थिए। यदी हतियार आपूर्ति बन्द नगरे अवस्था झनै बिग्रिने उनले चेतावनी समेत दिएको बताइन्छ। त्यो भेटघाटमा फ्रान्सेली राष्ट्रपति र जर्मन चान्सलरले पुटिनसँग एउटा आग्रह गरेका थिए, त्यो हो- ओडेसा बन्दरगाहमा लगाइएको नाकाबन्दी खुला गर्न।

उक्त बन्दरगाह खुला भएको खण्डमा त्यहाँबाट खाद्यान्न आपूर्ति शुचारु हुने उनीहरुले विश्वास व्यक्त गरेका थिए। जवाफमा पुटिनले बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउन आफू तयार रहेको बताए। तर त्यसका लागि पश्चिमा देशले आफ्नो देशमाथि लगाएको प्रतिबन्द खुला गर्नुपर्ने उनको शर्त थियो।

रूस र युक्रेन दुई देशले विश्वमा आवश्यक ३० प्रतिशत गहुँ उत्पादन गर्छन्। त्यसका अलावा युक्रेन युरोपलाई आवश्यक सूर्यमुखी फूलको तेलको निर्यात पनि गर्छ। युद्धका कारण उत्पादनमा कमी आएको छ भने आपूर्तिमा पनि त्यसले समस्या निम्त्याएको छ। त्यसकारण विश्वभर खाद्यान्नको मूल्य निकै बढेको छ। अफ्रिकी देशमा गहुँका लागि मानिसले डेढ गुनाबढी रकम तिर्न बाध्य भएका छन्। त्यसको एक उदाहरण हो, सोमालिया।

युद्धअघि त्यहाँ आवश्यक पर्ने ९० प्रतिशत गहुँ रूस र युक्रेनबाट आउने गर्दथ्यो। नियात बन्द भएसँगै सोमालियालाई अर्को खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता आएको छ। पुटिनसँगको भेटघाटमा फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सरलले युक्रेनका राष्ट्रपति जेलेनेस्कीसँग सिधा वार्ता गर्न आग्रह गरेका थिए। उनीहरुको आग्रहलाई सकारात्मक हिसाबमा लिँदै पुटिनले मस्को वार्ताका लागि सधैँ तयार रहेको बताए।

रूस-युक्रेन युद्ध र विश्व

रूस-युक्रेन युद्धका विषयमा २९ मेमा ब्रसेल्समा युरोपियन युनियनका नेताबीच वार्ता भएको थियो। यो बैठकमा दुई मुद्दाले प्राथमिकता पायो। रूसबाट आपूर्ति हुने ग्यास र तेलको विकल्प के हुनसक्छ। र अर्को मुद्दा युक्रेनलाई थप मद्दत कसरी पुर्‍याउन सकिन्छ? पहिलो दिनको वार्तामा रूसी तेलमाथि प्रतिबन्ध लगाउने विषयमा कुनै सम्झौता हुन सकेन।

प्रतिबन्ध लगाउने सवालमा स्लोभाकिया, हंगेरी र चेक रिपब्लिकले ठूलो विरोध गरेका थिए। स्लोभाकिया र चेकले रूसी तेलमाथि प्रतिबन्ध लगाउन धेरै समयको माग गरिरहेका छन्। हंगेरी भने यो मुद्दाको कुनै पनि विषयमा छलफल गर्न नै तयार नरहेको बताइन्छ। हंगेरीका राष्ट्रपतिले यस विषयमा युरोपियन काउन्सिलका प्रमुखलाई एउटा चिठी लेखेका थिए। जसमा उनले भनेका छन्, ‘तेल आपूर्तिमाथि प्रतिबन्ध लगाउने कुरा हुँदैन, यदि त्यस्तो भएको खण्डमा हाम्रो अर्थ व्यवस्थामाथि परमाणु बम खसालेको जस्तै हुन्छ।’

के गर्दैछ नेटो?

पूर्वी युरोपमा नेटो सैनिकको तैनाथीका विषयमा नेटोका उपप्रमुखले एउटा बयान दिएका छन्। उपप्रमुख मिलिसिया जेवनाले नेटो आफ्नो सेनालाई पूर्वी युरोपबाट बाहिर राख्न बाध्य नभएको बयान दिएका छन्। सन् १९९७ मा रूस र नेटोबीच ‘फाउन्डिङ एक्ट’का विषयमा दस्तखत भएको थियो। दुवै पक्षले मध्य र पूर्वी युरोपमा पुरातन सैन्यबलको उपस्थिति नहुने विषयमा सम्झौता गरेका थिए।

सम्झौतामा दुवै पक्षलाई असर गर्ने कुनै पनि सैन्य गतिविधि नगर्ने सम्झौता पनि भएको थियो। नेटो उपप्रमुख जेवनाले रूसले युक्रेनमाथि हमला गरेर पुराना सम्झौताको उल्लघन शुरु गरेको बताएका छन्। त्यसैले नेटो आफ्नो तरिकाले काम गर्न स्वतन्त्र भएको उनको दाबी छ। उनको यस्तो बयान आउँदै गर्दा नेटोले पूर्वी युरोपका क्षेत्रमा आफ्नो सेना तैनाथ गर्छ वा गर्दैन भन्ने थाहा भएको छैन।

जुन महीनाको अन्त्यमा स्पेनको मड्रिडमा नेटोको बैठक आयोजना हुँदैछ। उक्त बैठकमा अतिरिक्त सेनाको तैनाथीको विषयका छलफल हुने सम्भावना रहेको अनुमान गरिएको छ।

मद्दतका लागि अनौठो बाटो

लुथुआनीयाले युक्रेनलाई मद्दत गर्न अनौठो बाटो निकालेको छ। उसले एक क्राउड फन्डिङको माध्यमबाट युक्रेनलाई सहयोग गर्न तीन दिनमा लगभग ४० करोड रुपैयाँ जुटाएको छ। यो जम्मा भएको पैसाको माध्यमबाट युक्रेनलाई आवश्यक पर्ने हतियार खरिद गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved