काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ भगतसँग खैरो हिरोइन १०३ ग्राम र सेतो हिरोइन चार ग्राम बरामद गरेको छ। पक्राउ परेका भगतलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।
Facebook Comment
Comment