सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको खुलाएका छन्।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पाँचदलीय गठबन्धन टुटाउन एमालेको यस्तो प्रस्ताव आएको पनि बताएका हुन्। उनले भने, “प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ, तपाईंलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ। यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो।”

कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन नसक्नेसमेत प्रस्ट पारे। साथै उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने उनले बताए।
अर्को प्रसंगमा उनले स्थानीय तह निर्वाचनमा चुनाव चिह्न अस्पष्ट हुँदा कम सिट जितेको बताएका छन्। चुनाव चिह्न नयाँ भएकाले मतदाताले स्पष्ट बुझन् नसकेको उनले बताए। “स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न अस्पष्ट हुँदा मत बदर भएकाले पनि हाम्रो पार्टीले धेरै सिट गुमाउनु परेको छ,” उनले भने, “मतदातामा चुनाव चिह्नको अस्पष्टताले सिट गुमाउनुपर्यो।”
Facebook Comment
Comment