सुर्खेत। कर्णाली प्रदेशका चार ओटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
कालिकोटकाे खाँडाचक्र नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, जुम्ला चन्दननाथ नगरपालिका र हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनेका हुन्। ३० वैशाखकाे निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका थिए। पार्टीले नपत्याए पनि उनीहरुलाई नागरिकले रुचाए र लोकप्रिय मतले विजयी गराए।
कमल बहादुर शाही
कालिकोटका कमलबहादुर शाही लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय थिए। उनी युवा संघ कालिकोटको अध्यक्ष र पार्टी सह–सचिव भइसकेका छन्। नागरिकबीच स्वच्छ राजनीतिक छवि बनाएका शाही एमाले विभाजन भएपछि एककिृत समाजवादीतर्फ लागे।
त्यहाँ नेपाली कांंग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन हुने भएपछि उनले निर्वाचनमा टिकट पाएनन्।कांग्रेसले नै प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवारी दियो। माओवादी केन्द्रले उपप्रमुखमा मात्र उम्मेदवारी दर्ता गरायो।
नगरपालिकाको प्रमुख नेपालीका कांग्रेसको भागमा परेको थियो। कांग्रेसकी तारा शाहीले प्रमुखमा उम्मेदवारी दिएकी थिइन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका शाहीले नेकपा (एमाले) का जसीप्रसाद पाण्डेलाई ३१० मतान्तरले पराजित गरी विजयी बने।
शाहीले २९१९ मत पाए भने एमालेका पाण्डेले २६०९ पाए। शाहीलाई एकीकृत समाजवादी र माओवादी केन्द्रले सघाएको थियो। उनी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष हुन्।माओवादी केन्द्रका गणेशबहादुर शाही उपप्रमुखमा निर्वाचित भए ।
शाहीले आफू अहिले एकीकृत समाजवादी पार्टीमा नै रहेको बताए। ‘‘मलाई पार्टीले कारबाही गरेको छैन’’, उनले भने।
मोहन बहादुर केसी
सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका मोहनबहादुर केसी पार्टीले आफूलाई टिकट दिनेमा ढुक्क थिए। तर पार्टीले टिकट दिएन अनि स्वतन्त्रबाट उम्मेदवारी दिए।
माओवादीका कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका केसीले माओवादी केन्द्रकै उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरे। केसीले १८१९ मत ल्याए भने शाहीले १३३४ ल्याए। केसीलाई एकीकृत समाजवादी र एकीकृत माओवादीका कार्यकर्ताले चुनावमा सघाएका थिए।
राजुसिंह कठायत
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भए। उनी नेपाली कांग्रेसबाट नगरपालिका प्रमुखका दाबेदार थिए। तर उनलाई पनि पार्टीले टिकट दिएन। कांग्रेसले आधिकारिक उम्मेदवार पदमबहादुर शाहीलाई बनायो। पार्टीले नपत्याएका उनै कठायत पार्टीका आधिकारिक उम्मेदवार शाहीलाई ८१ मतले पछि पार्दै नगरपालिका प्रमुखमा विजयी बने।
कठायतले २ हजार ४०३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी शाहीले दुई हजार ३०२ मत पाए। उनी २०६४ सालको प्रदेशसभामा पराजित भएका थिए। उनलाई माओवादी केन्द्रका नरेश भण्डारीले पराजित गरेका हुन्। लामो समय कांग्रेसबाट राजनीति गरेका कठायत नागरिकमा लोकप्रिय नेता हुन्।
प्यारीलाल शाही
हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भए। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ५२३ मतातन्तरले पारजित गर्दै प्यारीलाल विजयी भएका हुन्। स्वतन्त्र उम्मेदवार शाहीले १६९५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी माओवादीका गोविन्दबहादुरले एक १७१ मत पाए ।
लामो समय कांग्रेसबाट राजनीति गरेका शाही नेपाली कांग्रेसबाट चुनावमा जान चाहन्थे तर पार्टीले उनलाई पत्याएन। जिल्लाभर माओवादी र कांगेसबीच तालमेलका कारण चंखेली गाउँपालिका माओवादी केन्द्रको भागमा पर्यो। पार्टीसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन गरेका थिए।
Facebook Comment
Comment