काठमाडौं। अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबार (आज) नेपाल भ्रमणमा आउँदैछिन्। भारतको तीन दिने भ्रमण सकेर जिया तीन दिनको नेपाल भ्रमणमा आउन लागेकी हुन्।
नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी उपविदेशमन्त्रीसँग अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एड्मिनिस्ट्रटर अञ्जली कौर पनि सहभागी हुने बताइएको छ।
मानवअधिकार तथा लोकतान्त्रिक शासनका उपलब्धि तथा मानवीय प्राथमिकतालाई अघि बढाउने विषयमा सहकार्य गर्न उपविदेशमन्त्री जिया भारत र नेपालको भ्रमणमा निस्किएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ।
भारतमा रहँदा अमेरिकी उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्। बिहीबार भएको भेटवार्ताकोे सार्वजनिक भिडिओमा उनले ‘विश्व शान्तिका लागि लामाले खेलेको भूमिकाको प्रशंसा’ गरेकी छन्। यस्तै उनले लामाको सुस्वास्थ्यको पनि कामना गरेकी थिइन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनको विशेष सन्देश तिब्बती धर्म गुरु लामालाई सुनाउने बताउँदै धर्मशाला पुगेकी उनीले त्यहाँ रहँदा निर्वासनमा रहेका तिब्बती सरकारका प्रमुख लगायतसँग भेट गरेकी थिइन्।
उपविदेशमन्त्री जियाको नेपाल भ्रमणका क्रममा अघिल्लो वर्ष आयोजित विश्व प्रजातान्त्रिक देशहरुको सम्मेलनले तोकेको कार्ययोजना प्राप्तिका विषयमा छलफल हुनेछ। उक्त कार्यक्रममा नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनको तिब्बत मामिला हेर्ने विशेष संयोजकको भूमिकामा रहेकी जियाले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण लगायतका सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई भेट्ने कार्यक्रम रहेको छ।
नेपालमा रहँदा जियाले सरकारी अधिकारीका अलावा मानव अधिकारका क्षेत्रमा काम गर्ने र नागरिक समाजका व्यक्तिलाई भेट्ने कार्यक्रम रहेको छ। पछिल्लो समय नेपाल भ्रमणमा आएका अमेरिकी अधिकारीले सरकारी अधिकारीसँग नागरिक समाज र मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई भेट् गर्दै आएका छन्।
यसअघि, एमसीसी पारित हुनुअघि नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण पूर्वी एशिया हेर्न सहायक विदेशमन्त्री डोनाल्ड लुको टोली नेपाल भ्रमणमा आउँदा पनि त्यो टोलीले नागरिक समाज र मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरुसँग भेट गरेको थियो।
अमेरिकी उपविदेशमन्त्री जियाले आफ्नो नेपाल भ्रमणका क्रममा सन् १९९० बाट शरणार्थी कार्ड पाउनबाट वञ्चित रहेका तिब्बती शरणार्थीलाई कार्ड उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गर्नेछिन्। यस्तै, नेपालको बाटो हुँदै तिब्बतबाट भारत प्रवेश गर्ने तिब्बतीहरुलाई बाटो सहजीकरण गर्न पनि नेपाल सरकारसँग आग्रह गर्नेछिन्। नेपाल भ्रमणमा आउने अमेरिकी अधिकारीले यस विषयमा यसअघि पनि नेपाल सरकारसँग आग्रह गर्ने गरेका थिए।
तर, यो पटक अमेरिकी अमेरिकी राष्ट्रपति बाइडेनको विशेष दूतका रुपमा नेपाल भ्रमणमा आउने जियाले नेपाल सरकारलाई तिब्बती समुदायप्रति लचक बन्न विशेष आग्रह गर्नेछिन्। गृहमन्त्रालय स्रोतका अनुसरा अमेरिकी दूतावासले यस विषयमा केहीअघि नै तयारी गरेका कारण पनि उपविदेशमन्त्री जिया नेपाल भ्रमणमा यो विषयले प्राथमिकता पाउने बताए।
“अमेरिकी दूतावासले यस विषयमा केही समयदेखि तयारी गरिरहेको, यसै विषयमा छलफल गर्न दूतावासका प्रतिनिधि मन्त्रालय आएका कारण पनि उपविदेशमन्त्री जियाको भ्रमणमा यो विषयले प्राथमिकता पाउने हामीले विश्वास गरेका छौँ,” गृहमन्त्रालयका ती अधिकारीले बताए।
सन् १९९० अघि नेपाल सरकारले तिब्बती शरणार्थीलाई शरणार्थी कार्ड प्रदान गरे पनि त्यसपछि भने दिएको छैन। शरणार्थी कार्डका अभावमा शरणार्थीहरुले बैंक खाता खोल्नदेखि हवाई सेवा लिनबाट वञ्चित भएका कारण उनीहरुको मानव अधिकार रक्षाका लागि यो व्यवस्था गर्न अमेरिकाले नेपालसमक्ष आग्रह गर्दै आएको छ।
नेपाल सरकारले भूटानी शरणार्थीको रोकिएको शरणार्थी कार्ड प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ। भूटानी शरणार्थीसँग तिब्बती शरणार्थीलाई पनि शरणार्थी कार्ड प्रदान गर्न अमेरिकालगायत नेपालमा रहेका अन्य पश्चिमा नियोगले नेपाल सरकारसँग आग्रह गर्दै आएका छन्। शरणार्थी कार्ड प्रदान गर्न छोडेयता तिब्बती शरणार्थीको गणना पनि भएको छैन। नेपालमा हाल १२ हजार तिब्बती शरणार्थी रहेको बताइए पनि यो आधिकारिक तथ्यांक भने होइन।
नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थीलाई शरणार्थी कार्ड उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गर्ने चर्चाबीच बुधबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री खाँणलाई भेटेकी थिइन्। गृहमन्त्री खाँणसँगको भेटमा राजदूत यान्छीले तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारले लिनसक्ने सम्भावित कदमका विषयमा बुझ्ने प्रयास गरेको गृहमन्त्रालय स्रोतले बताए।
“चिनियाँ राजदूतले नेपालले हालै सम्पन्न गरेको स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिन गृहमन्त्री खाँणसँग भेट गरेकी हुन्,” गृहमन्त्रालय स्रोत भन्छन्, “त्योभन्दा बढी नेपाल भ्रमणमा आउँदै गरेकी अमेरिकी उपविदेशमन्त्री जियाको नेपाल भ्रमणका विषयमा उनको चासो देखिन्थ्यो।”
बढ्दै अमेरिकी अधिकारीको नेपाल भ्रमण
नेपाल भ्रमणमा आउने तयारीमा रहेकी अमेरिकी उपविदेशमन्त्री जिया नेपाल अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षको अवसरमा नेपाल भ्रमणमा आउन लागेको बताइन्छ। तर, १७ फागुनमा नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणको संख्या बढेको छ।
यसअघि, वैशाख पहिलो सातामात्रै अमेरिकी उपसहायकमन्त्री केली केइडरलिङ नेतृत्वको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाखको दोस्रो साता अमेरिकाबाट नेपाल भ्रमणका लागि त्यहाँको सांसदहरुको टोली आएको थियो।
९ वैशाखदेखि ११ सम्म अमेरिकी संसद्का पाँच सदस्य नेपाल भ्रमणमा रहेका थिए। अमेरिकाको माथिल्ले सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्राण्डको नेतृत्वमा सेल्डन ह्वाइटहाउस, केरी ब्रुकर, मार्क केली र तल्लो सदन प्रनिधिनिसभा सदस्य मोण्डेयर जोन्स काठमाडौं आएका थिए।
Facebook Comment
Comment