बेथानचोकमा झण्डै १९ घण्टापछि मतगणना पुनः शुरु

नेपालभ्युज

बनेपा। मतगणनाका क्रममा केही विवाद निस्केपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शनिबार राति करिब १० बजेदेखि स्थगित भएको मतगणना पुनः शुरु भएको छ।

गाउँपालिकाका निर्वाचन अधिकृत लक्ष्मीप्रसाद रेग्मीका अनुसार बनाएको नियमलाई थप कडाइ गर्ने विषयमा दलका प्रतिनिधिहरूबीच सहमति भएपछि अहिले ५ बजेदेखि पुनःमतगणना शुरु भएको हो।

वडा नं १ को मतगणनाका क्रममा चित्त नबुझेको भन्दै नेकपा (एमाले) ले विवाद निकालेपछि मतगणना कार्य रोकिएको थियो। सो विषयमा लामो समयसम्म बसेको सर्वदलीय बठैक निर्वाचन आयोगले बनाएको नियमलाई कडाइपूर्वक लागू गर्ने विषयमा सहमतिमा पुगेपछि मतगणना पुनः शुरु भएको निर्वाचन अधिकृत रेग्मीले बताए।

“हामीले छलफलबाट मतगणनास्थलमा दलका आधिकारिक व्यक्तिबाहेक अरु बस्न नपाउने, माबोइल प्रवेश निषेध गर्ने, दलका प्रतिनिधि जति जना राख्ने भन्ने निर्णय भएको छ, त्यहीअनुसार मात्रै प्रवेश गर्नेलगायतका विषयमा सहमति भएपछि रोकिएको मतगणना पुनः शुरु भएको छ,” उनले भने, “पहिला वडा नं १ बाट शुरु गर्ने भनेर गरेको निर्णयअनुसार गरिएकामा सो वडाको मत गणना कार्य सकेपछि विवाद भएका कारण अब अन्तिम वडा नं ६ बाट शुरु गर्ने गरी मतगणना शुरु भएको छ।”

बेथानचोक गाउँपालिकामा हालसम्मको मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदमा ५७७ र माओवादी केन्द्रको उपाध्यक्ष पदमा ४६७ मत प्राप्त भएको छ भने नेकपा (एमाले) को अध्यक्ष पदमा ३८८ र उपाध्यक्षमा ३९६ मत आएको छ। अहिले वडा नं ६ को मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved