स्थानीय तह निर्वाचनको लागि आज मतदान

स्थानीय तह निर्वाचनको लागि आज शुक्रबार देशभर मतदान हुँदैछ। मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण भएको छ।

नेपालभ्युज

स्थानीय तह निर्वाचनको लागि आज मतदान

काठमाडौं। स्थानीय तह निर्वाचनको लागि आज शुक्रबार देशभर मतदान हुँदैछ। मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण भएको छ।

हिजो बिहीबारसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ।

एक करोड ७७ लाख ३३ हजार मतदाता

अधिकांश मतदान केन्द्रमा मतदाताहरू लाइनमा बसेका छन्। निर्वाचन आयोगले सुरक्षा प्रबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन्। ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन्।

३५ हजार २२१ जनप्रतिनिधि चुनिने

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन्। जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरू समेत निर्विरोध निर्वाचित भएका छन्। विभिन्न स्थानीय तहका ९ स्थानमा भने उम्मेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ। त्यहाँ पुनः निर्वाचन प्रक्रिया शुरु भएको छ।

परिचयपत्र नभए पनि मतदान गर्न पाइने

मतदानका लागि मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभए पनि भोट हाल्न पाइने भएको छ। यसअघि मतदाता परिचय पत्र अनिवार्य आवश्यक भनिए पनि अन्त्यमा आयोगले मतदाता परिचयपत्र हराएको, नष्ट भएकाहरूले पनि भोट हाल्न पाउने गरी यस्तो निर्णय गरेको हो।

आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरूको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गरेको छ।

आजै साँझबाट मतगणना

मतदान लगतै मतगणना पनि आजैबाट शुरु हुने छ। मतपेटिका ढुवानी गरेर गणनास्थल लैजान सकिने स्थानमा आजैबाट मतगणना कार्यप्रारम्भ गर्ने जनाइएको छ।

आयोगले जेठ ५ भित्रै मतगणना सक्ने लक्ष्य पनि लिएको छ। अधिकांश मतणनास्थलमा सीसीटीभी जडान गरिएको छ। कतिपय स्थानमा तारजालि समेत राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved