जनकपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरूबीच गठबन्धन गर्नु परेको बताएका छन्।
सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहोर्याए। शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली कांग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताए। देउवाले तराई मधेशमा नागरिकताको समस्या रहेको र यसलाई छिटो समाधान गर्ने आश्वासनसमेत दिए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए। विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोपसमेत लगाए। अध्यक्ष दाहालले अब सदन खुल्नेबित्तिकै नागरिकता समस्या समाधान हुने बताए।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको बताए। पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अध्यक्ष यादवले अपिल गरे।
Facebook Comment
Comment