७० प्रतिशत खेतमा पुगेको छैन सिँचाइ, बजेट खर्च तटबन्ध बनाउने र भत्काउनेमा

सरकारी बजेट सिँचाइ विस्तारभन्दा पनि एक वर्ष तटबन्ध बनाउन र अर्को वर्ष भत्काउन मात्रै जाने गरेको निष्कर्ष अध्ययनको छ। जसकारण उत्पादन बढ्न सकेको छैन।

नेपालभ्युज

७० प्रतिशत खेतमा पुगेको छैन सिँचाइ, बजेट खर्च तटबन्ध बनाउने र भत्काउनेमा

काठमाडौं। नेपालमा खेतीयोग्य ७० प्रतिशत जमिनमा सिँचाइ नपुगेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१ औँ वार्षिकोत्सवमा शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ३० प्रतिशत खेत मात्रै सिँचाइको पहुँचमा  रहेको तथ्यांक सार्वजनिक भएको छ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए। नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो। कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको बताए।

‘‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाइ छ, सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होइन कि तटबन्ध निर्माणमा खर्च हुन्छ,” उनले भने, ‘‘यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाइको एरिया बढाउने काममा समस्या छ।”

सिँचित जमिन नबढाइ उत्पादन बढाउन नसकिने भएकाले उत्पादन बढाउन मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने उनले बताए।

परिषद्ले हालसम्म ८० ओटा बालीका ७२३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ। त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved