वीरेन्द्रनगरमा गठबन्धनलाई एमालेको कडा टक्कर

नेपालभ्युज

वीरेन्द्रनगरमा गठबन्धनलाई एमालेको कडा टक्कर

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धन दल र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ। वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल छ।

गठबन्धन दलबाट नेपाली कांग्रेसका उपेन्द्र खड्का मेयरको उम्मेदवार छन् भने उपमेयरमा माओवादीका शान्ति ढकाल छिन्। त्यस्तै नेकपा (एमाले) मेयरमा विगतमा यही नगरपालिका उपप्रमुख रहेकी मोहनमाया ढकालले मेयरको पदमा उम्मेदवारी दिएकी छन् भने, उपमेयरमा  निलकण्ठ खनाल छन्।

खनाल यही नगरपालिका वडा नं.४ का वडा अध्यक्षसमेत हुन्।

विगतमा वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसका देवकुमार सुवेदीले मेयर जितेका थिए भने उपमेयरमा एमालेका मोहनमाया ढकाल विजयी भएकी थिइन्। उनै मोहनमायालाई अहिले एमालेले मेयरको उम्मेदवार बनाएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा सुवेदीले १४ हजार चार सय ५ मत ल्याएर विजयी भएका थिए भने ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भएकी थिइन्। एमालेका मेयरका उम्मेदवार बालाराम शर्मा कांग्रेसका मेयर सुवेदीसँग ५ सय ६ मतले पराजित भएका थिए।

अघिल्लो स्थानीय निर्वाचनमा एमाले यहाँ निकै बलियो देखिएको थियो। तर कांग्रेसका सुवेदीले पनि लोकप्रिय मत ल्याएका थिए। यहाँ माओवादी तेस्रो स्थानमा थियो। माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार दुई सय ३७ मत प्राप्त गरेका थिए। वीरेन्द्रनगरका १६ वटा वडामध्ये २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले ९ वडा, कांग्रेसले ६ र माओवादी केन्द्रले एउटा मात्र वडा जितेका थियो।

अहिलेको स्थितिमा कांग्रेसलाई माओवादीको साथ रहँदा केही राहत भएको छ। कांग्रेसले जितिहाल्ने केही आधार नदेखेर अन्तिम समयमा माओवादीसँग गठबन्धन गरेको हो। कांग्रेसभित्रै एउटा समूहले कांग्रेसलाई नै सहयोग गर्ने अवस्था नआएपछि अन्तिममा माओवादीसँग कांग्रेसले गठबन्धन गरेको हो।

अहिलेको परिस्थितिमा एमाले विभाजनको केही असर परेको भए पनि त्यसको पूर्ति एमालेले माओवादीबाट पाउने एमालेका नेताहरू नै बताउने गर्छन्।

वीरेन्द्रनगरमा माओवादीका केही प्रभावशाली नेता गंगाराम तिमिल्सेनासहित एमालेमा प्रवेश गरेका छन्। कांग्रेस, माओवादीको गठबन्धन र एमालेले वीरेन्द्रनगरमा जित्ने दाबी गरिरहँदा नयाँ थपिएका मतदाताले कसलाई रोज्ने हुन् त्यसको आकलन दलहरूले गरेका छैनन्।

२०७४ मा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६ सय ३७ मतदाता रहेकोमा अहिले यहाँ ६७ हजार ५७ मतदाता पुगेको छ। नयाँ थपिएका १६ हजार चार सय २० मतदाता कसलाई मन पराउँछन्, त्यसको आधारमा मत परिणाम फरक आउन सक्छ।

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धना शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरी, जनता समाजवादी पार्टीबाट गगनबहादुर सारु, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्मा, नेमकिपाका गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीका टीकाराम रेग्मी, नेपाल दलित पार्टीका निलकण्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्लेले उम्मेद्वारी दिएका छन्।

यी साना दलहरूको प्राप्त गर्ने मतले ठूलो दलका उम्मेदारलाई पनि फरक पार्न सक्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved