काठमाडौं । नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा अमेरिकाबाट नेपालमा उच्चस्तरको भ्रमणको तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले उच्चस्तरको भ्रमणको गृहकार्य भइरहेको जानकारी दिएकी हुन्।
अमेरिकाबाट नेपालमा कसको भ्रमण हुँदै भन्ने यकिन जानकारी नदिए पनि स्थानीय तहको निर्वाचनलगत्तै अमेरिकाबाट नेपालमा उच्च तहको भ्रमण हुने जानकारी प्रवक्ता लम्सालले दिएकी छन्। यस विषयमा नेपालस्थित अमेरिकी राजदूतले र्याडी बेरीले केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरि भ्रमणको जानकारी दिएको प्रवक्ता लम्सालले बताइन्।
“भ्रमणको सबै जानकारी अहिले नै दिनेगरी तयारी भएको छैन, यद्यपि अमेरिकाबाट नेपालमा उच्चस्तरको भ्रमण हुन लागेको छ,” प्रवक्ता लम्सालले भनिन्।
यसअघि १९ देखि २१ अप्रिलसम्म अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगको टोलीले तीन दिने नेपाल भ्रमण गरेको थियो। यस्तै २२ अप्रिलबाट अमेरिकी सिनेटर किस्टर्न जिलीब्राण्ड नेतृत्वको अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गरेको थियो।
नेपालको संसदले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँग अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण बाक्लिएको छ।
Facebook Comment
Comment