किसानलाई उन्नत जातको बीउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

नेपालभ्युज

किसानलाई उन्नत जातको बीउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन्।

बुधबार दिउँसो कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणिकरणका विषयमा छलफल भएको थियो।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताए।

“दुई महीनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईहरू (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उनले भने। मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिए।

“हामीले उन्नत जातको बिउ प्रयोग गर्‍यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ। यो काम गर्न ढिला नगरौं,” उनले भने, “मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन।”

उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए। “उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं। थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’”, अर्थमन्त्री शर्माले भने।

छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए। “सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्,” सचिव मरासिनीले भने।

छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बीउ ल्याउन निर्देशन दिइसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved