कैलाली। कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी परेको छ।
कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
उजुरी कुन व्यक्तिविरुद्ध कसले किन गरेको भन्नेबारे अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए। जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएका कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडाध्यक्षका उम्मेदवारी दिएका हिराजन विष्टविरुद्ध उजुरी परेको छ।
पार्टीबाट जबरजस्तीटिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टविरुद्ध उजुरी दिएका निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए।
कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ। जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। जिल्लाका पालिकाहरूमा सोमबार अबेर रातिसम्म उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो।
अधिकांश उम्मेदवार अपराह्नपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराउन आएपछि देखिएको भीडले कर्मचारीलाई दर्ता प्रक्रिया पूरा गर्न निकै समय लागेको थियो।
अधिकांश पालिका तहका निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी आज पनि उम्मेदवार दर्तासम्बन्धी कामको रुजु गर्नेलगायतको काम गरिरहेका थिए।
“उम्मेदवारी दर्ताका क्रममा अपराह्नदेखि बढेको भीडका कारण सबै उम्मेदवारको कागजात रुजु गर्ने रसिद काट्नेलगायत काम रातभर गर्नुपर्यो”, गौरीगङ्गा नगरपालिकाका निर्वाचन अधिकृत निराजन पाण्डेयले भने, “काम गर्दागर्दै रात बित्यो, सुत्न पनि पाइएन।” पर्याप्त जनशक्तिको अभावका साथै सबै उम्मेदवार एकसाथ उम्मेदवारी दर्ता गराउन आउँदा यस्तो अवस्था सिर्जना भएको पाण्डेयले बताए।
एउटै पदमा पार्टीका दुईको उम्मेदवारी
जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस पार्टी र नेकपा (माओवादी केन्द्र) को तर्फबाट दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको पत्रसहित कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका जनाइएको छ।
माओवादी केन्द्रको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत हिरालाल चौधरीले बताए। “सोमबार ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय परिसमा उहाँहरू उम्मेदवारी दर्ता गराउन आउनुभएको रहेछ”, उनले भने, “अबेर राति उहाँहरूको उम्मेदवारी दर्ता भएको छ।”
एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने दुई/दुई उम्मेदवारबारे सम्बन्धित पार्टीबाट पत्र आएपछि को आधिकारिक हो भन्ने यकिन हुने उनले बताए। पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानूनी व्यवस्था छ।
Facebook Comment
Comment