देउवाको गृहजिल्ला डडेल्धुरामा फुट्यो कांग्रेस, एमालेसँग तालमेल

नेपालभ्युज

देउवाको गृहजिल्ला डडेल्धुरामा फुट्यो कांग्रेस, एमालेसँग तालमेल
फाइल तस्वीर

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस दुई भागमा बाँडिएको छ। कांग्रेसको एक पक्षले नेकपा (एमाले) सँग चुनावी तालमेल गर्ने भएको हो।

देउवा पक्षसँग रुष्ट बनेको पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपी पार्टीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो। आइतबार स्वाउबारी भ्यूटावरमा भएको दुईपक्षीय बैठकले जिल्लाका सातै ओटा स्थानीय तहमा चुनावी तालमेल गर्न भागबण्डा गर्ने निर्णय गरेको छ।

जसअनुसार जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा बीपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन्। परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा बीपी कांग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ।

यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निर्णय भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष बीपी कांग्रेसलाई दिइने भएको छ।

अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बीपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बीपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्।

उता गन्यापधुरामा बीपी कांग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने बन्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved