धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीसहित ६४ जनाविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाविपरीत समितिका अध्यक्षहरूको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी हक हस्तान्तरण गरेको अभियोगपत्रमा उल्लेख छ।
समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाईलीविरुद्ध २ करोड २१ लाख ९७ हजार ४०० रूपैयाँ, पल्टु रानाविरुद्ध ७३ लाख १० हजार ८०० रूपैयाँ, नायव सुब्बा पुष्पराज भट्टविरुद्ध ३ करोड ७ लाख २० हजार ९३८ रूपैयाँ, अमिन तुलादत्त जोशीविरुद्ध ३ करोड ८ लाख ५ हजार ७०० रूपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ।
त्यसैगरी अन्य प्रतिवादीविरुद्ध पनि करोडौं बिगो कायम गरी प्रतिवादी बनाइएको छ।
Facebook Comment
Comment