सुर्खेत। स्थानीय तह निर्वाचन नजिकिएपनि कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र समाजवादी जनता पार्टीबीच अहिलेसम्म उम्मेदवारका विषयमा सहमति जुट्न सकेको छैन।
गठबन्धनका सबै दलहरुले आफ्नो राजनीतिक हैसियतभन्दा बढी सिट मागेपछि सहमति जुट्न अफ्टेरो परेको हो।
यसअघि बसेको गठबन्धनको बैठकले देशका सबै महानगरपालिका र उपमहानगरपालिकामा कुन पार्टीको उम्मेदवार उठाउने भनेर टुंगो लगाइसकेको छ। नगरपालिका र गाउँपालिकाको हकमा आवश्यकताका आधारमा गठबन्धन गर्ने सहमति शीर्ष नेताबीच बनेको भएपनि स्थानीय स्तरमा सहमति बन्न कठिन छ।
सल्यानमा गठबन्धन दलहरु एक्लाएक्लै निर्वाचनमा जाने निर्णय गरेका छन्। गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक्लाएक्लै निर्वाचनमा जाने निर्णय गरेका हुन्।
सल्यानमा १० वटा स्थानीय तह रहेका छन्। माओवादीले तीन पालिकाको प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्षसहित एकसय ८३ पद जित्दै पहिलो बनेको थियो।
एमालेले चार पालिकाको प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्षसहित एकसय ५१ पद जित्दा काँग्रेसले तीन पालिकामा प्रमुख, तीन उपप्रमुख र २३ वडाध्यक्षसहित एकसय १२ पद जितेको थियो।
दैलेखमा गठबन्धनको प्रदेश संयन्त्रलाई दैलेखका ११ पालिकाका २२ प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमध्ये १७ पदमा दाबी गरेको छ। कांग्रेसले १७ पद नपाए गठबन्धन कायम नहुने चेतावनी दिदैँ आएको छ। त्यसैका कारणले गठबन्धन हुने संकेत देखिदैन।
कालीकोटमा कांग्रेसले चार स्थानीय तह माग गरेका कारणले त्यहाँ पनि गठबन्धन हुन सकस नै रहेको छ। सुर्खेतमा ९ मध्ये ६ पालिकामा जीत हात पारेको कांग्रेसभित्र आन्तरिक विवादका कारणले समस्या देखिएको छ।
यहाँ माओवादीले तीन र एकीकृत समाजवादीले दुई पालिकामा दाबी गरेका छन्। कांग्रेसको संस्थापन पक्षले अहिलेसम्म शेखर कोइराला पक्षसँग सिट बाँडफाँटका विषयमा छलफल गरेको छैन।
गठबन्धनभित्र रहेका दलहरुबीच भएको छलफलबाट निकास दिन सकिरहेका छैनन्। गठबन्धन दलहरुको निरन्तर छलफल हुने गरेको भएपनि अहिलेसम्म सहमति हुन सकेको छैन।
कर्णालीका १० जिल्लामध्ये कुनै जिल्लामा पनि गठबन्धनभित्र सहमति हुन सकेको छैन। गठबन्धनभित्रका सबै दलले जिल्लास्थित कार्यालयलाई सहमति गरेर जानकारी पठाउन आग्रह गर्दै आएको भएपनि अहिलेसम्म सहमति हुन नसकेको हो।
पार्टीका प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माओवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्लबीचमा निरन्तर छलफल हुने गरेको छ।
गठबन्धनलाई सफल बनाउन लचकताका साथ लाग्नुपर्ने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले बताए।
Facebook Comment
Comment