धनगढी। आज कञ्चनपुरका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिए।
“भीमदत्त नगरपालिकाभित्र र अन्य पालिकामा नगर र गाउँपालिकाको सेरोफेरोमै कार्यालय स्थापना भए”, प्रमुख जोशीले भने, “निर्वाचन अधिकृतले नै अब कार्यालयका लागि आवश्यक कर्मचारी नियुक्त गर्नेछन्।”
यहाँको भीमदत्त नगरपापालिकामा कार्यालय स्थापना कार्यक्रममा निर्वाचन मुख्य अधिकृत तथा जिल्ला अदालत कञ्चनपुरका न्यायधीश मदनबहादुर धामी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो।
यसअघि निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई तालिम÷प्रशिक्षण दिइएको छ। दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदानस्थल तोकिएको छ।
कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले मुख्य निर्वाचन अधिकृतको कार्यालयसित अन्य तहमा रहेका निर्वाचन कार्यालयको समन्वयमा निर्वाचनसम्बन्धी कामकाज अघि बढ्ने बताए। “निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्ररूपमा निर्वाचन गराउनेछन्”, उनले भने, “आवश्यकताअनुसार समन्वय भने हुन्छ।”
उनले जिल्लामा निर्वाचनमा जनशक्ति खटनपटनका लागि जनशक्ति समिति गठन गरिएकोले सो समितिले नै जिल्लाभर मतदान अधिकृतलगायत कर्मचारी खटाउने बताए।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई÷दुई पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र विजयी भएका थिए।
यसपटक भने सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल पालिका र वडा तहको उम्मेदवार टुङ्गो लगाउन आन्तरिक छलफल तथा गृहकार्यमा जुटेका छन्।
Facebook Comment
Comment