कोरोनाविरुद्धको १० लाख डोज खोपको म्याद गुज्रिँदै, १२ दिन मात्र बाँकी

नेपालभ्युज

कोरोनाविरुद्धको १० लाख डोज खोपको म्याद गुज्रिँदै, १२ दिन मात्र बाँकी

काठमाडौं। कोरोनाविरुद्ध खोप अभियान सञ्चालन नहुँदा मौज्दात रहेको ११ लाख डोज खोप खेर जाने देखिएको छ।

सातै प्रदेशका विभिन्न कोल्ड स्टोरमा रहेको एष्ट्रेजेनेकाको करिब ११ लाख डोज खोप १७ वैशाखसम्म नलगाए खेर जान सक्ने परिवार कल्याण महाशाखाअन्तरगर्त खोप शाखा प्रमुख सागर दाहालले बताए। उनी भन्छन्, “तीन महीनाअघि दोस्रो खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज दिने बेला भएको छ, हामीले यसरी मिलाएर तीन महीनासम्म राख्न मिल्ने एष्ट्रेजेनेकाको खोप ल्याएको हो। खोपको एक्सपायर डेट अप्रिल ३० हो, अझै १२ दिन बाँकी छ। त्यो समयसम्म लगाउइसक्ने भनेर हरेक प्रदेशलाई पत्रचार गरिसकेका छौं।”

टाइफाइडविरुद्धको खोप अभियान चलिरहेकाले कोरोनाविरुद्ध खोप अभियान चलाउन नसकेकाले पनि कोभिडविरुद्ध खोप अभियानका प्रभाव परेको उनको भनाइ छ। संघीय सरकारले खोप लिएर हरेक प्रदेशमा राखिदिएको र चाहिने जति पैसा पनि दिएकाले अबको जिम्मोवारी प्रदेश र स्थानीयको भएको समेत उनले बताए।

महाशाखा प्रमुख डा.विवेकलाल कर्णले नागरिकलाई खोप लगाउनका लागि महामारी नै आउनुपर्ने तर्क गरे। भने, “खोप अभियान नचले पनि केही अस्पतालबाट अझै पनि खोप दिरहेको छ तर लगाउने छैनन्, पहिले पनि यस्तै भएको थियो, बीचमा ओमिक्रोन आएपछि बुस्टर डोज लगाउनेको लाइन लाग्यो थियो। अहिले खाली छ। उनले थपे, “हाम्रो सोच अलिकति बाल मनोविज्ञान जस्तो छ तर्सायो भने गर्ने नत्र भने नगर्ने, बच्चा जस्तो सरले गाली गर्‍यो भने होमवर्क गर्ने नत्र भने नगर्ने जस्तो छ।”

भारतमा कोरोना संक्रमित संख्या बढ्दै छ सायद अब खोप लगाउनेको संख्या बढ्न सक्ने उनको आकलन छ।

“विद्यालयको शैक्षिकसत्र सकिन लाग्यो, स्थानीय चुनाव भन्छन् त्यसपछि वर्सातको मौसम शुरु हुन्छ त्योभन्दा अगाडि नै टाइफाइडको खोप अभियान सञ्चालन नगरी धरै नभएकाले तत्कालै टाइफाइड खोप लगाउनुपरेको हो,” उनले भने, “त्यसमाथि टाइफाइड र कोरोना खोप लगाउने स्वास्थ्यकर्मी एकै हुन्। उनीहरू दोहोरो खोप लगाउन त सक्दैनन्।”

यता आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले पनि खोप खपत कसरी गर्न सकिन्छ भनेर छलफल गरिहेको बताए। सक्दो खोपको म्याद गुज्रिन नदिने भने पनि निकै कम समयमा धेरै खोप खपत गराउनु चुनौतीपूर्ण रहेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved