बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

नेपालभ्युज

बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को टोलीले भेटवार्ता गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको छ।
सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए

भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे कुराकानी भएको थियो।

नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए। नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए।

सरकारले यसअघि भएका पटक–पटकका वार्तामा नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो। त्यसपछि नेकपाको केही दिनअघि कपिलबस्तुमा सम्पन्न बैठकले ३० वैशाखका लागि निर्धारित स्थानीय तह निर्वाचनलाई प्रयोग गर्ने निर्णय गरेको थियो।

वार्तामा नेकपा बैठकको निर्णय अनुरुप निर्वाचनमा भाग लिएमा सहजीकरण गर्न सरकार तयार रहेको सरकारी पक्षले बताएको थियो।

वार्तामा सरकारी पक्षले नेकपा निर्वाचनमा माग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छुट मतदाता नामावली थप गर्न पहल गर्न सकिने बताएको थियो। सरकारी पक्षले स्थानीय निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले स्थानीय गाँउ ठाउँको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, जनतालाई शक्तिशाली बनाउने विकास र शक्तिको केन्द्र जनताको घर आगन हुने हुँदा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनु उपयुक्त हुने भन्दै नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो।

नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्लवयन भएमा निर्वाचनमा सहभागी हुन आफूहरू तयार रहेको बताएका थिए। नेकपा र तत्कालीन सरकारबीच २०७७ फागुन २० गते तीनबुँदे सहमति भएको थियो।

सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ।

खाँण गृहमन्त्रीमा नियुक्त भएपछि नेकपासँग भएको सहमति कार्यान्वयनका लागि पटक–पटक वार्ता गरिरहेका छन्। वार्ता सकारात्मक रूपमा अघि बढेको र केही दिनमै ठोस विन्दुमा पुग्ने दुवै पक्षले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved