काठमाडौं। ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त महासङ्घ’ भन्ने मूल नाराका साथ सुडी समाज महासङ्घ नेपालको सम्पन्न ‘प्रथम राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ। सम्मेलनले परमेश्वर महासेठको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा इन्जिनियर उमाशङ्कर साह, उपाध्यक्षमा नरेश महासेठ र शान्ति महतो तथा महासचिवमा शीतलप्रसाद महतोलाई चयन गरिएको छ। सचिवमा इन्जिनियर रामस्वरुप महासेठ र कोषाध्यक्षमा विनोद साह रहेका छन्।
सो अवसरमा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति डा बैजनाथ महतोले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै अनुशासित र मर्यादित समाजको निर्माणका लागि आफ्ना बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताए।
सुडी समाज काठमाडौँका अध्यक्ष डा अशोक महासेठ र पूर्वअध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याए।
समाजका सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रामनाथ साह, समाजका अगुवा किशोरी महतो, परमेश्वर महासेठ, इन्जिनियर ओमप्रकाश महतो, निभा साह र सुडी समाज काठमाडौँका महासचिव शीतलप्रसाद महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राखे।
सुडी समाज काठमाडौँको अध्यक्ष डा महासेठको सभापतित्वमा सम्पन्न सम्मेलनमा काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका करिब १५० सुडी समुदायका अगुवा सहभागी थिए।
Facebook Comment
Comment