स्वीकृति नलिई भित्ते पात्रो छाप्न नपाइने, नत्र प्रकाशकलाई कारबाही हुने

स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्ते पात्रो (क्यालेन्डर) प्रकाशक कारबाहीमा पर्ने भएका छन्।

नेपालभ्युज

स्वीकृति नलिई भित्ते पात्रो छाप्न नपाइने, नत्र प्रकाशकलाई कारबाही हुने

काठमाडौं। स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्ते पात्रो (क्यालेन्डर) प्रकाशक कारबाहीमा पर्ने भएका छन्। पछिल्लो समय धेरैजसो संघ संस्था र कर्पोरेट हाउसले भित्तेपात्रो प्रकाशन गर्दै आएका छन्। तर, कतिपयले नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुमति नै नलिई प्रकाशन गर्ने गरिरहेका छन्।

अनुमति नलिएका पात्रो प्रकाशकलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्पष्टीकरण सोध्ने भएको हो। समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्ते पात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ। स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ।

हालसम्म नौ भित्ते पात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए। समितिका स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य सङ्घ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ महानगरपालिका– २५ टेङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौँ, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका–३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौँ, धनप्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, काठमाडौँ, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी, काठमाडौँ, नोक्पिन हाउस, न्युरोड, काठमाडौँ र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीत स्वीकृति नलिई भित्ते पात्रो प्रकाशन गरेको पाइएको घिमिरेले जानकारी दिए। अनुगमन अहिले पनि जारी छ।

अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।

समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्ते पात्रो प्रकाशन भएका छन्। हाल दैनिक ५० भन्दा बढी भित्ते पात्रोले समितिसँग स्वीकृति लिएका छन्। राजधानी बाहिरबाट प्रकाशन हुने पात्रो र भित्ते पात्रोले अनलाइनबाटै स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved