विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डीएसपीसहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयको २५ चैत्रको आदेशानुसार एक बर्से कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरूको सरुवा भएको हो। मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्यालयमध्ये एउटामा डीएसपी र बाँकी ६ वटामा इन्स्पेक्टरको नेतृत्व छ।
मोरङको उर्लाबारी, रानी, बेलबारी, रङ्गेली, लेटाङ र सिजुवामा इन्स्पेक्टरको नेतृत्व छ भने पथरीमा डीएसपीको नेतृत्व छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि इन्स्पेक्टरकै नेतृत्वमा छ। प्रहरी प्रधान कार्यालयको आदेशानुसार अहिले सरुवामा परेका इन्स्पेक्टर गत वर्षको २७ चैतमा विभिन्न प्रहरी युनिट इञ्चार्जको रूपमा सरुवा भएर मोरङ आएका हुन्।
प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङको सरुवा भएको छ। उनको ठाउँमा हाल डीएसपी राजन कार्की आएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्का पनि विराटनगरस्थित १ नम्बर प्रदेश कार्यालय सरुवा भएका छन्। खड्काको ठाउँमा प्रहरी निरीक्षक राजकुमार कार्की आएका छन्।
यस्तै इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं सरुवा भएको छ। उनको स्थानमा डीएसपी वेदप्रसाद गौतम आएका छन्। डीएसपी गौतमले यसअघि विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ मा रहेको नेतृत्व गरिसकेका छन्।
यसबाहेक इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक राजाराम खड्काको जिल्ला प्रहरी कार्यालय बाग्लुङ, रानीका प्रकाश राउतको जिल्ला प्रहरी कार्यालय पर्वत र बेलबारीका सरोज खनालको जिल्ला प्रहरी कार्यालय संखुवासभामा सरुवा भएको छ।
यस्तै रङ्गेलीबाट प्रहरी निरीक्षक अनमोल खड्काको प्रहरी प्रधान कार्यालय, लेटाङबाट रोमनराज अर्यालको जिल्ला प्रहरी कार्यालय खोटाङ र सिजुवाबाट विष्णुबहादुर खड्काको इलाका प्रहरी कार्यालय इटहरी सरुवा भएको छ। मोरङ प्रहरीकी महिला सेलकी इन्स्पेक्टर एल्जिना राईको पनि चितवन सरुवा भएको छ।
उनीहरूको ठाउँमा उर्लाबारीमा मिलन थापा, रानीमा महेन्द्र दर्नाल, बेलबारीमा खगेन्द्र धमला, रङ्गेलीमा शैलेश न्यौपाने, लेटाङमा विकास थपलिया र सिजुवामा निलम प्रसाद उप्रेती प्रहरी प्रमुख भएर आएका छन्। उर्लाबारी सरुवा भएका प्रहरी निरीक्षक थापा यसअघि जिल्ला प्रहरी कार्यालय मोरङकै अपराध अनुसन्धान शाखामा कार्यरत थिए।
Facebook Comment
Comment