काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको अर्थतन्त्रका विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताएका छन्।
उद्योग वाणिज्य महासङ्घको ५६औँ वार्षिक साधारण सभाको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको सहभागिताबिना आर्थिक विकास सम्भव नहुने धारणा व्यक्त गरे।
सभामुख सापकोटाले कोरोना महाव्याधिले ल्याएको संकटको समाधानका लागि सबैको सामूहिक प्रयास जरुरी रहेको बताए। सङ्कटले अवसर पनि ल्याउने हुनाले त्यसको सदुपयोगमा निजी क्षेत्र लाग्नुपर्ने उनले बताए।
मुलुकसामु ऐतिहासिक जिम्मेवारी आएकाले विकासका लागि सबैले निष्ठा र इमानका साथ काम गर्नुपर्ने उनले बताए।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीले अर्थतन्त्रमा देखिएको विद्यमान अवस्थालाई चिर्नुपर्ने अवस्थामा मुलुक रहेको बबताए। पर्यटक बढाउनेदेखि औपचारिक प्रणालीबाट विपे्रषण भित्र्याउनेजस्ता काम गर्नुपर्ने जिम्मेवारी सरकारलाई रहेको उनले बताए।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रक्रिया सहज भए निजी क्षेत्र लगानीका लागि तयार रहेको बताउनुभयो । नीतिगत अलमलकै कारण अर्थतन्त्रमा बारम्बार समस्या देखिएकाले त्यसको दीर्घकालीन समाधान हुनुपर्ने उनको भनाइ थियो।
Facebook Comment
Comment