यी हुन् लोसपाले सिफारिस गरेका जनकपुरधामका मेयर

नेपालभ्युज

यी हुन् लोसपाले सिफारिस गरेका जनकपुरधामका मेयर

जनकपुरधाम। स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवार तय गर्न थालेका छन्। आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्।

आज बसेको लोसपा जनकपुरधाम उपमहानगर कमिटीको बैठकले मेयर र उपमेयरको नाम सिफारिस गरेको हो। बैठकबाट मेयरका लागि सञ्जय कुमार चौधरी, मनोज चौधरी, परमेश्वर साह, अमर पजियार र जानकीराम साहको नाम प्रस्ताव गरिएको छ।

मेयरका लागि सिफारिस सूचीमा परेका परमेश्वर साह प्रदेश सांसद र अमर पजियार मन्दिरका महन्थ हुन्। लोसपा केन्द्रीय सदस्यसमेत रहेका मनोज चौधरी बस व्यासायी हुन्। त्यसैगरी जानकीराम साह वडा नम्बर ७ का वडाध्यक्ष हुन्।

लोसपाको तर्फबाट उपमेयर पदका लागि विभा ठाकुर, रीता मिश्र, पुनम झा ‘मैथिली’, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको छ। रीता जनकपुरधामकी उपमेयर हुन्।

महन्थ ठाकुरकै नेतृत्वमा रहेको तत्कालीन राजपाबाट जनकपुरधामको मेयर, उपमेयर र २५ मध्ये १२ वडाध्यक्ष विजयी भएको थियो। निर्वाचित मेयर लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा) मा छन्। उनी जसपाबाट पुनः मेयरका दाबेदार छन्।

यता जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले शिवशंकर साह (हीरा) लाई सिफारिस गरेको छ। एमालेले हीराको एकल नाम सिफारिस गरेको हो।

नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आइतबार सर्वसम्मत रुपमा सिफारिस गरिएको एमालेले जनाएको छ। उनी उद्योग वाणिज्य महासंघको मधेश प्रदेशका पूर्वअध्यक्ष हुन्।

यसअघि रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौँ’ भने मूल नाराका साथ महतोले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्।

जनकपुरमा यस वर्ष लोसपा, नेपाली कांग्रेस, जसपा र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved