झापाका स्थानीय तहका प्रमुख पदमा महिलाहरूले उम्मेदवारी दिने

नेपालभ्युज

झापाका स्थानीय तहका प्रमुख पदमा महिलाहरूले उम्मेदवारी दिने

झापा। नारी सञ्चारगृह झापाले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आज विर्तामोडमा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखसँग अन्तक्रिया गरेको छ।

जिल्लामा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा महिलाको नेतृत्व स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। ‘प्रमुख पदमा महिला सहभागिता र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले चार वटा पालिकामा महिलालाई प्रमुख पदका लागि टिकट दिने विषयमा पार्टीले छलफल चलाइरहेको बताए।

उनले विपक्षी दलका उम्मेदवार हेरेर पार्टीले प्रमुख पदमा उम्मेदवार चयन गर्ने परिपार्टीका कारण सक्षम र दक्ष महिलालेसमेत टिकट नपाउने गरेको बताए। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपक तामाङले पार्टीभन्दा पनि व्यक्तिको पहुँच र छवि हेरेर टिकट दिँदा महिलाले कम अवसर पाएको बताए। जित्ने महिला उम्मेदवार हेरेर पार्टीले मुख्य पदमा टिकट दिइने उनले बताए।

कार्यक्रममा संघीय सांसद धर्मशीला चापागाईंले महिलालाई प्रमुख पदमा लैजानका लागि जिल्लामा कहिल्यै पनि अन्तरदलीय छलफल नभएको बताइन्। पुरुष र महिलाबीचको खाडल पुर्ने अवसर आगामी निर्वाचन भएको हुँदा अधिकांश पालिकामा महिलालाई सबै दलले प्रमुख पदमा टिकट दिन आवश्यक रहेको उनको भनाइ थियो।

आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट अर्जुनधारा नगरपालिकामा प्रमुख पदको आकांक्षी सरस्वती सिटौलाले महिला नेता मात्र नभई नेतृत्व गर्न सक्षम भएको हुँदा प्रमुख जिम्मेवार दिइनुपर्ने बताइन्।

महिला नेत्री शारदा शर्माले दलले महिलाको क्षमतालाई नजर आन्दाज गरेमा जुनसकै पार्टीबाट उठेका भए पनि महिलालाई मत दिएर विजयी गराउनसके मात्र महिलाको नेतृत्व स्थापित गर्न सकिने बताइन्।

कार्यक्रममा अधिकांश जनप्रतिनिधिले पाँच वर्षमा महिला राजनीतिकर्मीले पालिकामा उपप्रमुख र वडा सदस्यका रुपमा काम गरेको अनुभवका आधारमा आगामी ३० वैशाखमा निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले देशभरि महिलाले चलाएका पालिका उत्कृष्ट भएको उदाहरण पेश गर्दै आगामी निर्वाचनमा महिलालाई प्रमुख पदमा टिकट दिन दललाई आग्रह गरिन्।

प्रमुख पदकी आकांक्षीसमेत रहेकी उनले दलहरूका पुस्तक, नीति कानुनका ठेलीमा लेखिएका अधिकारलाई प्रत्यक्ष रूपमा लागू गरेर आगामी निर्वाचनमा देखाउन दलहरूलाई चुनौती दिइन्।

चार वर्षसमेत वडा सदस्यमा काम गरेका अधिकांश महिलाले वडाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। जनप्रतिनिधि महिलाले जिम्मेवारी पाए निर्भयतापूर्वक बहन गर्नसक्ने सामर्थ्य भए पनि चुनाव खर्चिलो हुने हुँदा आर्थिक अभावमा चुनाव लड्न नसकिने बताए।

नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले व्यक्तिगत पहुँचका आधारभन्दा पनि क्षमता र दक्षताका आधारमा महिलालाई प्रमुख पदमा टिकट दिलाउने राजनीतिक दललाई आग्रह गरिन्।

जिल्लामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलले वडाबाट उम्मेदवार चयन शुरु गरिसकेका छन्। कार्यक्रममा निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर जाने संकेत देखिएको भन्दै अधिकांश वक्ताहरूले महिला प्रतिनिधिको सङ्ख्या घटाउने हो कि भन्ने आशंका व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved